कार्तिक २५, गुल्मी–आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गुल्मी क्षेत्र नम्बर २ मा दुई प्रभावशाली नेताबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गुल्मी–२ मा वि.सं.२०६४ सालदेखि एमाले उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारी प्रतिस्पर्धीका रुपमा छन् ।
कांग्रेस नेता भण्डारी २०७० सालमा एमाले नेता ज्ञवालीलाई पराजित गर्न सफल भएका थिए । २०७० बाहेकका अन्य निर्वाचनमा एमाले नेता ज्ञवालीले जित हात पारिरहेका छन् । यि दुवै नेता प्रभावशाली र शालिन स्वभावका रुपमा चिर परिचित छन् ।
कांग्रेसको विरासत फर्काउने दाउमा भण्डारी
नेपाल विद्यार्थी संघको महामन्त्री बन्दै राष्ट्रिय राजनीतिमा होमिएका भण्डारी यसपटकको निर्वाचनबाट कांग्रेसको विरासत फर्काउने दाउमा छन् । एमाले नेता ज्ञवाली सँग पटक पटक पराजित वेहोर्दै आएका भण्डारी यसपटक गठबन्धनको साहारामा बाजी मार्ने कसरतमा देखिएका हुन् । राष्ट्रिय राजनितिमा भण्डारीको नाम चर्चामा रहेपनी उनी एक पटक सांसद बाहेक लाभको पदमा छैनन् । यस पटकको निर्वाचन माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको मत भण्डारीका लागि जितको आधार बन्न सक्ने देखिन्छ ।
एमालेको विरासत कायममै राख्ने रणनितिमा ज्ञवाली
२०५६ देखि चुनाव लडेका ज्ञवालीको यो प्रतिनिधिसभामा पाचौं पटकको उम्मेदवारी हो । ज्ञवालीले ४ पटक जितेका छन् भने एक पटक कांग्रेस नेता भण्डारीसंग पराजय भएका छन् । पटक पटक निर्वाचित एमाले नेता ज्ञवाली यसपटक पनि एमालेको विरासत कायममै राख्ने रणनितिमा छन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रको साथ लिएर विजयी हासिल गरेका ज्ञवालीलाई यसपाली चुनाव जित्न सत्ता गठबन्धनको मत तान्नुपर्ने हुन्छ । एमाले उपमहासचिब ज्ञवाली पर्यटन तथा नागरिक उड्ययन मन्त्री हुदैँ परराष्ट्रमन्त्री बनेका छन् ।
स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा गुल्मी–१ मा एमाले पहिलो र कांग्रेस दोस्रो पाटी हुन् । गुल्मी क्षेत्र नम्बर १ मा १ लाख १९ हजार २ सय ८८ मतदाता छन् । निर्वाचनको मिति नजिकिएसंगै यि दुई नेता मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेता भण्डारी र ज्ञवालीको जितहारलाई जिल्ला तहदेखि केन्द्र सम्म निकै उत्साहका साथ हेरिएको छ । कस्ले जित्ने र कस्ले हार्ने भन्ने मंसिर ४ मा मतदाताले दिएको मतको नतिजाले देखाउने छ ।