मङ्सिर २६,गुल्मी – गुल्मीको रेसुंगा गौशालामा रहेका गाईहरुको आहारका लागि घाँस सहितका सामग्री सहयोग गरिएको छ । जिल्लाको ऐतिहासिक,धार्मिक, पौराणीक, सिद्ध भूमि तथा अमृतभूमिको रुपमा परिचित रेसुंगा गौशालामा रहेका गाईहरुको आहार व्यवस्थापनका लागि छिमेकी जिल्ला अर्घाखाँचीका विभिन्न व्यक्तित्वहरुले घाँस, नुन, तेल सहित आर्थिक सहयोग गर्नुभएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाले जानकारी दिए ।
अध्यक्ष भुसालका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ डाडाखर्ककी खेता पाण्डेले रु. २२ हजार पाँच सय बराबरको घाँस, आटा, नुन–तेल लगायतका आवश्यक समाग्री सहयोग गरेको भुसालले बताए । यस्तै छत्रदेव गाउँपालिका–७ काउले सागबारीका गोविन्द प्रसाद पाण्डेले रु. १७ हजार बराबरको १ ट्याक्टर घाँस सहयोग गरेका छन् । उनले गत वर्ष पनि घाँस उपलब्ध गराई सहयोग गरेको अध्यक्ष भुसालले बताए ।
यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाँडाकटेरी निवासी गीरीप्रसाद भुसालको परिवारले पनि नगद रु.३ हजार ३ सय १० सहित घाँस, पिठो, नुन, तेल गौशालामा संरक्षण समितिलाई हस्तान्तरण गरेक हुन् ।भुसालकी श्रीमती खेमकला भुसाल, छोरा नारायण भुसाल र बुहारी नमुना भट्टराई भुसालको सपरिवार उपस्थित भई गौशालामा रहेका गाईहरुलाई नुन–तेल समेत खुवाएका थिए ।
त्यस अवसरमा रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले आर्थिक तथा गाईका लागि आहार व्यवस्थापन गर्न सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
आगामी दिनमा पनि गाईहरुको संरक्षणका लागि सबैको सहयोग आवश्यक रहेको उनले बताए ।“सकेसम्म सबैले घर–घरमा गाई पालौं । सकिंदैन् भने दैनिक गाईका लागि मुष्ठिदान गरेर खाने बानी बसालौं ।” उनले भने ,–“यसबाट सुख, शान्ति र समृद्धि प्राप्त हुनुका साथै मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक मान्यता छ ।” अध्यक्ष भुसालले रेसुङ्गा गौशालामा अहिले एक सय ५० भन्दा बढी गाईहरुको संरक्षण गरिएको बताए ।