गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित चिदिचौरलाई व्यवस्थित गर्न सुरु गरिएको छ । रेसुङ्गा नगरपालिकाले चिदिचौरलाई व्यवस्थित रुपमा चिटिक्क पार्न लागिएको हो । अहिले चिदिचौर खेलमैदानको नाली निर्माण लगायतका विभिन्न कामहरु धमाधम भइरहेका छन् ।
रेसुङ्गा नगरपालिकाको गौरवको आयोजना अन्र्तगत कुल ६० लाखको टेण्डर आव्हान गरिएको थियो । सुस्मा करिस्मा निर्माण सेवाले ३८ लाख ५० हजारमा निर्माणको जिम्मा पाएको रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार असार मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माणको काम सञ्चालन भइरहेको छ ।
“चिदिचौरको प्रवेशद्वारमा दुवैतर्फ आकर्षक गेट निर्माण गरिनेछ ।” इन्जिनियर कोइरालाले भन्नुभयो, “वायरनेसको जाली निर्माण गरिनेछ । सिढिको प्लास्टर रङरोगन गरिनेछ । स्टेजमा ट्रस निर्माण गरिनेछ ।” ग्राउण्डको पानी व्यवस्थापनका लागि १०० मिटर नाली निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।
चिदिचौरलाई तम्घासको सुन्दरताका रुपमा रुपान्तरण गरिने नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
थप बजेटको व्यवस्था गरि आगामी दिनमा चिदिचौरमा दुबो रोप्ने, रोलिङ गर्ने तथा रङ्गशालाको जस्तो कभर गरिने योजना समेत रहेको उहाँले उल्लेख गर्नुभयो ।
“चिदिचौरको व्यवस्थापनका लागि अव्यस्थित रुपमा छेउछाउमा राखिएका फुटपाथहरुलाई समेत व्यवस्थित गर्ने भएका छौं ।” उहाँले भन्नुभयो, “अहिले चिदिचौरमा प्लास्टर, नाली निर्माण लगायतका विभिन्न कामहरु धमाधम सञ्चालन गरेका छौं ।”