सखुंवासभामा आज सोमबार मृत भेटिएका एकै परिवारका ६ जनाको शव मंगलबार मात्रै उठाइने भएको छ । सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरी अधिकारीहरुले बताएका छन् । घटनास्थल विकट ठाउँमा भएकाले समय पुग्न समयो लागेको बताइएको छ । हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ । सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । ९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशल छन् । वौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्की हत्या भएको हो । मादी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष खेमनाथ कटुवालले उनीहरूको शव एकै ठाउँमा भने नरहेको बताए । पार्वती कार्कीबाहेक अरू सबैको शव बाहिर भेटिएको वडाध्यक्ष कटुवालले बताए। सासू–बुहारीको शव घरभन्दा केही मिनेट पर खोलामा फेला परेको उनले बताए । तेजबहादुरलाई भने हतियारले टाउको र पेटमा हानेर मारेको देखिएको उनले बताए । ‘उहाँहरूको शव विभिन्न ठाउँमा फेला परेको छ,’ उनले भने,’कसैको खरबारीमा, कसैको मकैबारीमा खोलातिर भेटिएको छ । मृतकहरूले खेतीको लागि जान लागेको जस्तो कपडा लगाएका छन् । चप्पल पनि लगाएका रहेछन् । लखेटेर, खेदेर मारेको जस्तो देखिन्छ ।’