गुल्मी – गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ ।
रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने गरी सम्झौता भएको छ । सोही अनुसार बुधबार निगमले व्यावसायिक ‘प्रुभिङ’ उडान गर्ने छ ।
रेसुंगा नगरपालिका र निगमको सम्झौतामा साक्षी बसेका वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यहाँ निजी कम्पनीको तुलनामा निगमले झण्डै २ हजार रुपैयाँ कम भाडामा यात्रु बोक्ने भएको छ । टिकट दर तोक्ने जिम्मा भने निगमलाई नै दिइएको छ । गुल्मीको सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा अवस्थित यो विमानस्थल यस भेगकै पहिलो विमानस्थल हो ।
नियमित उडान सफल भएमा गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ, पाल्पासहितका जिल्लाका यात्रुले सेवा पाउँछन् । गुल्मीमा यसअघि इलाम र बागलुङमा अपनाइएको अवधारणामा उडान हुन लागेको हो । ती दुई विमानस्थलले भने नियमित यात्रु पाउन भने सकेनन् । सोहीकारण सम्झौता सकिएपछि त्यहा उडान समेत हुन सकेको छैन ।
गुल्मी विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए । उनी अघिल्लो प्रतिनिधिसभामा यसै क्षेत्रमा प्रतिनिधि समेत थिए । यहाँ ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग बनेको छ । जहाँ १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन् । यस्तो जहाजहरु नेपाल एयरलाइन्स, तारा एयर, समिट एयर र सीता एयरसँग छन् ।