गुल्मी- आगामी बर्षको नीति तथा कार्यक्रममा गुल्मीको मालिका गाउँपालिकाले श्रम बैंकदेखि लोकसेवा र शिक्षक सेवाका कक्षा संचालन सम्मका नीति ल्याएको छ । बुधबार सम्पन्न १३ औं गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष देविराम अर्यालले विकास निर्माणका काममा स्थानीयलाई रोजगारी सिर्जना गर्न श्रम बैंकदेखि सरकारी सेवामा प्रवेश गर्न चाहानेहरुलाई लोकसेवा र शिक्षक सेवाका कक्षा संचालनका नीति ल्याएका हुन् ।
आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम मार्फत पालिकाभित्रको शिक्षाको शैक्षिक गुणस्तरमा सुधार ल्याउन मालिका गाउँपालिकाले २०८० लाई ‘शैक्षिक सुधार’ र शैक्षिक सम्मेलन बर्षको रुपमा लिएको छ । सार्वाजानिक सेवा प्रवाहमा सहजता र पारदर्शिता बनाउन गाउँपालिकाका सबै वडामा सुचना अधिकारी तोक्ने,विकास निर्माणका काममा स्थानीयलाई प्राथमिकता दिन श्रम बैंक स्थापना गर्ने, व्यवसायीक कृषि पकेट क्षेत्रमा सिंचाई, उत्पादनमा आधारित अनुदान कार्यक्रम,शिक्षालाई गुणस्तरिय बनाउन ५ बर्षिय शैक्षिक रणनीति, शिक्षक अभाव रोक्न शिक्षक बैंकको स्थापना, कृषकले उत्पादन गरेको उपजको बजारीकरणमा पहल,वन्यजन्तुबाट कृषि उत्पादनमा हुने क्षति न्यूनिकरण गर्न पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।गाउँमै युवालाई रोजगारी सिर्जना गर्न ‘गाउँफर्क प्यारा’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
मालिका गाउँपालिकाका हरेक गतिविधिलाई नागरिक मैत्री बनाउन ८ वटा वडामै सार्वजनिक सुनुवाई गरिने,महिला,बालबालिका,दलित र युवा संजाल गठन गरी विभिन्न कार्यक्रम संचालन तथा सहभागी बनाउने, गाउँपालिकाका हरेक गतिविधि नागरिक सम्म पुप्याउन ‘मालिका संग मिडिया’ कार्यक्रम संचालनमा ल्याउने,गाउँपालिकाको शैक्षिक लागत साझेदारीमा एम.वि.वि.एस पढ्न चाहाने विद्यार्थीलाई छात्रवृित्तको व्यावस्था गरी एक बर्ष निशुल्क सेवा गर्नुपर्ने,पर्यटन क्षेत्रको प्रचारप्रसार गरी पर्यटक प्रवद्धन गर्न होमस्टे संचालन गर्ने , पाँचलबर्षमा शिक्षक सरुवा गर्ने विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरिने,गाउँपालिको विकास र प्रगतीबारे देश विदेशमा रहेका नागरिकलाई चौमासिक ‘मालिका अनलाईन’ को भिडियो मार्फत जानकारी दिने र सुझाब लिने, संघीय नीतिअनुसार गाउँपालिकाको पुजीँगत रकमको एक प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने, साझेदारीमा प्रविधिका सामाग्री लिने,वडास्तरमा विपद् व्यावस्थापन समिति गठन गर्ने नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।
यस्तै नीति तथा कार्यक्रममा सुचना अधिकारीलाई क्षमता विकासका तालिम,दर्लिङ्गको च्यानडाँडामा सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण,नेटा, दर्लिङ्ग हुदैँ गंगरे पुग्ने सडक ग्राबेल गरिने,पालिका पहुँचमार्ग सिलादी,घमिर,भानुपोखरा हुदैं गाउँपालिका पुग्ने सडकको ग्राबेलमा पहल गरिने ,गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष देविराम अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
श्रम बैंक मार्फत दक्ष,अर्धदक्ष र अदक्ष पहिचान गरी गाउँपालिकाका हरेक विकास निर्माणका काममा परिचालन गर्ने,आदिबासी,जनजाती,दलित र विपन्न समुदायका बालबालिकालाई विद्यालयमा पढ्न प्रोत्साहित गर्ने, आगमी बर्ष वृहत शैक्षिक सम्मेलनको आयोजना गरी पालिका अध्यक्षले विद्यार्थीका जिज्ञासा र प्रश्नको जवाफ र उपाध्यक्षले अभिभावकको समस्या सुन्ने र समधानमा पहल गर्ने ,पालिकाले उपभोक्ता समिति गठन गर्दा जनसहभागी बढाउने ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिने लगायतका कार्यक्रम आगामी बर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।