रबिन पाण्डे, गुल्मी
मुसिकोट नगरपालिकामा कार्यरत जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य पठाउनु पर्ने सुचना प्रकाशन भएसङै मुसिकोटमा स्थापित निजि विद्यालयका प्रध्यानध्यापक र संचालकद्वारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाईएको छ ।
नेपालको संविधान २०७२ र शिक्षा ऎन विपरित स्थानिय तहले निर्णय गरेको, बालबालिका र अभिभावकको स्वतन्त्रताको हक हनन हुने र निजि क्षेत्रलाई दुरुत्साहित गर्न खोजिएकोले यथासिघ्र निर्णय सच्याउन आग्रह गर्दै ध्यानकर्षण गरिएको मालिका ईङलिस बोर्डिङ हाई स्कुलका प्रध्यानध्यापक पुस्तकलाल श्रेष्ठले बताउनु भयो ।
मुसिकोटमा संचालित ७ निजि विद्यालयमा १६०० भन्दा बढी विद्यार्थीहरु अध्यानरत रहेको र १५० जना भन्दा बढी शिक्षक तथा कर्मचारीले कार्यरत रहेको हुँदा निजि विद्यालयले स्थानिय तहको ठूलो भार थेगेको गोल्डन फ्युचर एकेडेमीका प्रध्यानध्यापक लोकनाथ सापकोटाले बताउनु भयो ।
मुसिकोटमा निजि विद्यालय बन्द भएको अबस्थामा रोजगारी र गुणस्तरीय शिक्षाका निम्ति ठूलो संख्यामा बसाइँसराइ हुने दीपज्वती बोर्डिङ स्कुलका प्रध्यानध्यापक बिष्णु महतले बताउनु भयो ।
ध्यानाकर्षण पत्र बुझाएसङै छलफलमा नगर प्रमुख जिवराज खरेल (जीवन) ले निजि संस्थालाई हतोत्साहित हुने कार्य नगर्ने र निजि विद्यालयलाई परेको अप्ठ्यारो सम्बोधन गर्ने वचन व्यक्त गर्दै ढुक्क भएर गुणस्तरीय शिक्षामा लाग्न अनुरोध गर्नुभएको बडागाउ ज्ञानकुन्ज बोर्डिङ स्कुलका प्रध्यानध्यापक बसन्त अधिकारीले बताउनु भयो ।
मुसिकोटका सातै विद्यालयका प्रध्यानध्यापकद्वारा हस्ताक्षरित पत्रमा तत्काल निर्णय सच्याउन अनुरोध गरिएको छ ।