गुल्मी । गुल्मीको संस्थागत एक विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ। तम्घासस्थित ब्रिलियन्ट युनाइटेड एकेडेमीलाई शैक्षिक गुणस्तरमा थप सुधारका लागि आर्थिक सहयोग प्राप्त भएको बताइएको छ ।
२०६७ सालदेखि मन्टेश्वरी विधिबाट पठनपाठन सञ्चालन गर्दै यस विद्यालयको १४ औं वार्षिकोत्सबको अवसरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्नुभएकी पूर्व विद्यार्थी सोनु खत्रीका अभिभावक कमल खत्री र शान्ती खत्रीले विद्यालयको थप उन्नति र प्रगतिको लागि ३० हजार ५०० रुपियाँ आर्थिक सहयोग गर्नुभयो ।
अभिभावकले प्रदान गर्नुभएको उक्त सहयोग रकमको चेक रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले सञ्चालक समिति अध्यक्ष गुणानिधी शर्मा र प्रधानाध्यापक सन्तोष थापालाई हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा अभिभावक शान्ती खत्रीले विद्यालयले कक्षा नर्सरीदेखि नै संस्कारसहितको शिक्षा दिँदै कक्षा १० (एसइई) मा समेत उत्कृष्ट नतिजा दिलाउन सफल भएकोले सो रकम हस्तान्तरण गरेको बताउनुभयो ।
पूर्व विद्यार्थी सोनु खत्री हाल काठमाडौंको जेविएर इन्टरनेशनल कलेजमा पुर्ण छात्रवृत्तिसहित विज्ञान विषय अध्ययनरत हुनुहुन्छ । विद्यालयका प्रधानाध्यापक सन्तोष थापाले यो सहयोगले थप हौसला प्राप्त भएको बताउनुभयो । आर्थिक सहयोग मात्र नभएर विद्यालय, विद्यार्थी र अभिभावक बीचको सम्बन्धको बारेमा यस सहयोगले समेत स्पष्ट देखाएको उहाँले बताउनुभयो ।