गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकामा भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल समापन भएको छ । नगरपालिका स्थापना दिवसको अवसरमा बैशाख २४ गते देखि चिदिचौर खेल मैदान तम्घासमा सुरु भएको प्रतियोगिताको अन्तिम दिन वडा नम्बर १ र वडा नम्बर ८ बीच फाइनल खेल भएको थियो ।
उक्त प्रतियोगितामा वडा नम्बर ८ ले वडा नम्बर १ लाई १ का बिरुद्ध ४ गोलले पराजित गर्र्दै मेयर कपको उपाधि हात पारेको छ । विजेता वडा नम्बर ८ को टिमलाई नगद पुरस्कार रु. ३५ हजार, शिल्ड, मेयरकप उपाधि रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी सहितका अतिथिहरुले प्रदान गर्नुभएको थियो । त्यस्तै उपविजेता वडा नम्बर १ लाई नगद पुरस्कार रु.२५ हजार, शिल्ड, कप र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बैशाख २४ गते देखि सुरु भएको प्रथम मेयर कपमा रेसुगा नगरपालिकाका १४ वडामध्ये १२ वडाका टिम सहभागी थिए । त्यस्तै सोही अवसरमा आज अन्तिम दिन जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा जनप्रतिनिधिको टिमलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै कर्मचारीहरुको टिमले जित हासिल गरेको छ । यस अघि नगरपालिका स्थापना दिवसको अवसरमा बैशाख २५ गते विविध कार्यक्रम सहित नगरपालिकाले नगरपालिका स्थापना दिवस मनाएको थियो । रेसुङ्गा नगरपालिकालाई नेपाल सरकारले २०७१ साल बैशाख २५ गते घोषणा गरेको थियो ।
दिवसका अवसरमा अन्य कार्यक्रमहरु सम्पन्न भए पनि मेयर कप फुटवल प्रतियिोगिता सञ्चालन गरेको थियो । सो प्रतियोगिताको आज समापन गरिएको हो । समापन प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको बिशिष्ट व्यक्तित्वहरुले सहभागीताले कार्यक्रम ओजमय बनेको थियो ।