बसन्त अधिकारी, जेठ १५ गुल्मी
गणतन्त्र दिवसको अवसर पारेर गुल्मीको चन्द्रकोट गाउँपालिकाले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज गाउँपालिकाको छेउमै रहेको चन्द्रकोट क्याम्पसको प्राङ्गणमा गरिएको रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका हुन ।
यो सङ्ख्या गुल्मीमै पहिलो रहेकोे बताइएको छ । अहिलेसम्म एकैपटकमा यति ठूलो सङ्ख्यामा गुल्मीमा रक्तदान गर्ने स्थानीय तह चन्द्रकोट नै रहेको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताए । साथै उनले बिगतमा चन्द्रकोट गाउँपालिका गुल्मी र नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही बिच भएको सहमति अनुसार चन्द्रकोट बासी जनसमुदायलाइ ५ नम्बर प्रदेश भर आवश्यक रगत निसुल्क उपलब्ध गराउने बताए ।
चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल शिक्षक महासंघ चन्द्रकोट गाउँपालिका, उधोग बाणिज्य संघ शान्तिपुर, नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही र नेपाल स्वयमसेवी रक्तदाता समाज गुल्मीको सहकार्य र रक्त संचार सेवा केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज के सि ले बताए ।
साथै उनले रगतको अभावमा चन्द्रकोट वासी बुवा आमा दाजुभाइ तथा दिदिबहिनीहरु तड्पिन नपरोस भनेर यो अभियान सुरु गरेको बताए । कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष, प्रशासकीय अधिकृत लगायत जनप्रतिनिधि र कर्मचारी सहित गाउँपालिका भित्रका विभिन्न संघ संस्थाहरु र जनसमुदायहरुको व्यापक सहभागिता थियो ।