बगरमा एउटा कालोकालो छिर्केमिर्के ढुङ्गा थियो । अरु भन्दा अलि फरक । पानीले छाट्दाछाट्दा त्यसको आकार लाम्चो यसो हेर्दा कुनै अमुक आकृती जस्तो देखिन्थ्यो । एउटा बटुवा बगरै बगर हिडिरहेको थियो । उसको नजर त्यो ढुङ्गामा पर्यो । ढुङ्गा अनौठो आकृतिको भएकोले उसलाइ त्यो ढुङ्गाको बनौट मन परेछ, अनि सिङ्गो लिएर हिड्यो ।
केहि समय बगरको बाटो हिडेपछी लेकतिर बाटो लाग्यो । घाम चर्कदै थियो उ उकालोतिर लम्कदै थियो । जति उकालो चढ्थ्यो त्यति थकाइ महसुस हुन थाल्यो । बटुवालाई आफ्नो शरीर समेत गरुङ्गो लाग्न थाल्यो । डाँडाको गलिछेडोमा पुग्दै थियो थकाइले लकतरान भयो ।
लखतरान बटुवाले एकछिन थकाइ मार्ने ध्येयले पिपलको फेदमा बस्यो । आखिर उकालो चढनु थियो गन्तव्यमा पुग्नको लागि । पुन: आफ्नो थकित शरीरलाइ केही थकाइ मारेर उकालो चढ्यो । तर उसलाइ आफ्नै शरिर गरुङ्गो लागिरहेको थियो ।जसको कारण त्यो ढुङ्गा थियो।
उकालोमा त्यो ढुङ्गा सहित जादा झन् थाकिने भएकोले त्यो ढुङ्गालाइ बटुवाले त्यही छोडने निधो गर्यो । त्यति मेहनत र मन परेर ल्याएको ढुङ्गालाइ अलपत्र छोडेर जान उसलाइ मन लागेन । केही रुखका स्याउला बिछ्याएर त्यो ढुङ्गालाई बिचमा राखेर उ बटुवा उकालो चढ्यो ।
बडुवाको आवत जावत हुने बाटो थियो । कोहीले त्यो ढुंगाको वास्ता गरेनन् तर कोहीको लागि त्यो ढुङ्गा अनौठो लाग्यो। सोच्न थाले यो खोलाको बगरको ढुङ्गा कसरी यहाँ आयो ।
अनि स्याउलाको बिचमा ! खोलाबाट यो ढुङ्गा त्यसै आएको होइन केही शक्ति छ भन्दै वटुवाहरु हिड्न थाले । कोहीले मनोकामना पुराहोस् भनेर भाकल गर्न र ढोग्न थाले ।
संयोगवस् ढोग्ने र भाकल गर्ने मध्ये केहिको काम पूरा हुनेवाला थियो भयो पनि । तर केहिको मनोकामना पूरा भएन तर अर्को पटक पुराहोला भन्दै आशामा बाच्न थाले । भाकल गरेकाले कोहीले के कोहिले के ल्याउने फुलपाती चढाउने हानथाप हुनथाल्यो ।
बगरको त्यो ढुङ्गामा अबिर रातो टीका हुंदाहुदै कपडा समेत चढाउन थालियो । दिन बित्दैजादा त्यहा भ्रममा बाच्ने मानिसहरुको भिडभाड हुन थाल्यो । खोलाको बगरको ढुङ्गा अब पत्थर हुँदै शिलामा रुपान्तरण हुदैथियो । त्यो ढुङ्गा आफै उत्पत्ति भएको भनेर चर्चा शुरु भयो । त्यस ढुङ्गाको नाम अब ढुङ्गा रहेन “बगरे देवता” भयो ।
बगरे देवता रहेको ठाउँ फराकिलो बनाइयो । भवन मन्दिर बने एउटा पुजारी राखियो । सरकारबाट समेत सहयोग आउन थाल्यो । अहिले त्यो “बगरे देउता” को भव्य मन्दिर छ त्यसको नाममा थुप्रैको व्यापार भएको छ । त्यही बगरे देउताको नाममा गुठी छ । बगरे देउताको नाम बेचेर थुप्रैको रोजगारी चलेको छ ।
गाउँमा उत्पादनमा जोडिएको मकै, गहु ,कोदो फलाउने किसान भन्दा त्यो “बगरे देउता” धेरै धनी छन् । बगरे देउताको नाम बेच्नेहरु पनि धनी भैसके तर हलो जोत्ने एउटा किसान उस्तै छ । ” बगरे देउता” को चर्चा फैलिदै गयो । केही नेताहरु चुनावको बेला आशिर्वाद लिन त्यही आइपुग्थे । यस्तै छ आज भोलि ।
संयोगले त्यो बटुवा धेरै वर्षपछी त्यो बाटो हिड्दै थियो। पहिलेको अनकन्टार जङ्गलमा अहिले भव्य मन्दिर चहलपहल देख्यो । मन्दिरको र त्यो देवताको चर्चाले उसलाइ पनि देवताको दर्शन गर्न मनलाग्यो । लाइन लागेर मन्दिर भित्र पस्यो । दर्शन गरेको त त्यो त त्यही बगरको किरेमिरे आफैले ल्याएको ढुङ्गा थियो । बाहिर निस्केर वास्तविकता बताउन थाल्यो । तर त्यो भिडले बटुवाको कुरा सुनेन ।
पुजारीले यो नास्तिक हो हाम्रो धार्मिक आस्थामा असर पुर्याउन आएको हो, यसलाइ ठिक गर्नुपर्छ भन्यो । भिड बटुवाका विरुद्ध खडाभयो । उसले गरेको सत्य कुराको कहिकतै सुनुवाइ भएन । किनकी “बगरे देउता”ले धेरैको जीवन चलाइदिएको थियो । कतिपयको भोट बचाइदिएको र धेरैको नोट कमाइदिएको थियो, बगरको ढुङ्गा उर्फ “बगरे देउता” ले !!!
(लेखक खनाल नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हुनुहुुन्छ।)