काठमाडौं: अन्तर्राष्ट्रिय सेयर बजारको तुलना गर्दा नेपाली सेयर बजार धेरै पछाडी छ। अन्तर्राष्ट्रिय सेयर बजारमा धेरै क्षेत्रहरु सूचिकृत छन् तर हाम्रो सेयर बजारमा सीमित क्षेत्रहरु मात्रै सूचिकृत छन् । जसले गर्दा हामीलाई तुलात्मक रूपमा धेरै क्षेत्रहरुमा लगानी गर्ने अवसरहरु भने मिलेको छैन। नेपाली सेयर बजारमा बैंकिङ क्षेत्रको मेजर होल्डिङ रहेको छ।
बैंकिङपछि बीमा कम्पनीहरु, हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स, विकास बैंक जस्ता क्षेत्रहरुका सेयर सहभागिता छन् । अझैपनि नेपाली सेयर बजारमा देशका आर्थिक क्रियाकलापमा संलग्न विभिन्न कम्पनीहरु समावेश हुन सकेको अवस्था छैन । साथै प्रविधिको हिसाबले नेपाली सेयर बजार अन्तर्राष्ट्रिय सेयर बजार भन्दा धेरै पछाडी छ । विदेशी सेयर बजारलाई हेर्ने हो भने धेरै प्रविधिको प्रयोग भएको पाउन सकिन्छौँ ।जहाँ लगानीकर्ताहरुले सहज रुपमा कारोबार गर्न पाएका छन् । तर नेपालमा त्यो अवस्था छैन ।
तपाईंले आफुसँग भएको अतिरिक्त पूंजी सेयर बजारमा लगानी गर्न र आफुलाई पूंजी आवश्यक परेको खण्डमा बिक्री पनि गर्न सक्नु हुन्छ । यहाँ लगानी गर्न धेरै ठुलो लगानीको आवश्यकता भने पर्दैन, तपाईंसँग भएको थोरैथोरै रकमले पनि लगानी सुरु गर्न सक्नुहुन्छ । नेपालमा धितोपत्र करोबारको लागि नेपाल स्टक एक्सचेन्ज- नेप्से (Nepal Stock Exchange- NEPSE) छ। सेयर बजारमा स्टक एक्सचेन्ज, ब्रोकर र लगानीकर्ता हुन्छन्। नेप्सेमा सूचीबद्ध कम्पनीको सेयरहरू ब्रोकर मार्फत खरिद बिक्री गरिन्छ। ग्राहकहरूले सेयर किन्न वा बेच्न ब्रोकर मार्फत मात्र कारोबार गर्न सक्छन्। सेयर बजारमा म्युचुअल फन्ड, बन्डहरूको पनि ट्रेड कारोबार हुन्छन्।
नेपालमा पहिलो पटक वि.सं. १९९४मा विराटनगर जुटमिल्स र नेपाल बैंकले सेयर जारीगरेका थिए । सरकारले २०१८ सालमा पहिलोपटक ऋणपत्र निस्कासन गरेकोथियो र निजी क्षेत्रबाट वि.सं.२०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरु मध्ये हिमालयन बैंकले वि.सं.२०५९ सालमा पहिलो पटक ऋणपत्र जारी गरेको थियो ।
के सेयर बजार जुवा घर हो?
केही व्यक्तिले सेयर बजारलाई जुवा घरको संज्ञा दिन्छन् त केही व्यक्तिहरूले यसलाई खतरनाक खेलको शीर्षक पनि दिन्छन्। मेरो विचारमा त्यस्तो हैन र म सेयर खरीद गर्दा कुनै खतरा पनि देख्दिन। हो यस क्षेत्रमा बिना अध्ययन अरूको लहैलहाईमा कदापि लगानी गर्न हुँदैन। यदि तपाईं सेयर बजारमा राम्रो अध्ययन बिना हचुवा वा हल्लाको भरमा सेयर किन्नु हुन्छ भने पक्कै पनि यो तपाईंको लागि जुवा र खतरनाक खेल हुन सक्छ।
सेयर बजारमा लगानी गर्दा सधै एउटा भनाइको याद राख्नु पर्छ “लोभले लाभ लाभले बिलाप”, भन्नुको तात्पर्य नाफाको लोभले आफुले थेग्नसक्ने भन्दा धेरै जोखिम मोल्नु हुँदैन नत्र आफूसँग भएको सम्पति पनि गुम्न सक्छ।
कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि सेयर जारी गर्ने गर्छन्। त्यही सेयर खरिद बिक्री गर्ने बाजार नै सेयर बजार हो। सेयर बाजारलाई दुई भागमा बिभाजन गर्न सकिन्छ प्राथमिक बजार र दोस्रो बजार।
वर्तमान सेयर बजार
हाम्रो सेयर बजार १२ सयसम्म डाउनफल भएपछि पश्चात बढ्न थालेको थियो र धेरै समयसम्म सेयर बजार १६ सयको बिन्दुमा बस्न सफल भयो । पछिल्लो समय अनलाईन ट्रेडिङ र बैंकहरुले व्याजदर घटाउन सुरु गरेकाले गर्दा सेयर बजारलाई सकरात्मक असर पर्न गएको देखिन्छ। साथै कोभिड १९ का कारण अन्य क्षेत्र अस्तव्यस्त भएको हुँदा लगानी कर्ताहरुले अरु व्यवसायमा लगानी गर्न सक्ने अवस्था छैन। यसै कारणले पनि सेयर बजारमा लाखौँ नयाँ लगानीकर्ता थपिएको छ। अन्य क्षेत्रको तरलता पनि सेयर बजारमा थपिएको पनि दिनानुदिन नेप्सेले नयाँ रेकर्ड बनाउँदै, यो समाचार सम्पादन गर्दासम्म २९४४.७८ को बिन्दुमा १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३५ टर्नओभरका साथ क्लोसिङ भएको छ।
सेयर बजार ड्राइभ गर्ने भनेको बैंकिङ इनडेक्सले नै हो । अहिले केही कमर्शियल बैंकहरुको चुक्तापुँजी आठ अर्ब रुपैयाँ पुगिसकेको छ भने केहीको पुग्न लागेको छ । यस्तो अवस्थामा बैंकिङ इनडेक्स कुन अवस्थामा पुग्छ भन्ने कुरा अनिश्चित छ । नेपालको सेयर बजारमा बैंकिङ क्षेत्रकै प्रभुत्व रहेका कारण अब सेयर बजार कता जान्छ भन्ने कुरा पनि अनिश्चित नै छ।
लगानीको हिसाबले सेयर बजार कत्तिको सुरक्षित छ ?
बुझेर लगानी गर्यो, कम्पनीको आधारभूत र टेक्निकल अनालाइसिस् मजाले अध्ययन गरेर लगानी गरियो, कम्पनीले दिने प्रतिफलको बिषयमा जानकारी लिइयो र होहल्लाको पछाडी लागिएन भने सेयर बजारमा गरिएको लगानी जोखिमपूर्ण हुँदैन।
त्यस्तै, कम्पनीमा लगानी गरिसकेपछि कम्पनीबाट मैले केकत्ति मुनाफा पाउने हो, आफूसँग भएको पैसा बैंकमा राखेर ब्याज खाँदा फाइदा हुन्छ कि कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ, कस्तो मान्छेले कम्पनी चलाएको छ, कम्पनीको व्यवस्थापन कस्तो छ, त्यसको ४÷५ बर्षको लाभांश वितरण इतिहास कस्तो छ, उसको रेभिन्यू सोर्स बढेको छ वा घटेको छ, कम्पनीको नेट प्रोफिट कत्ति छ, EPS, P/E रेसियो लगायतको विविध विषयमा पहिले नै जानकारी भयौँ, सेयरमासाक्षर भयौँ र बुझेर लगानी गर्यौँ भने सेयर बजार सुरक्षित छ।
नेपालमा सेयर ब्रोकरहरुको सेवा
अन्तर्राष्ट्रिय हिसाबमा हेर्दाखेरी सेयर ब्रोकरहरु फुल सर्भिस र डिस्काउन्ट ब्रोकरहरु गरेर दुई थरीका हुन्छन् । डिस्काउन्ट ब्रोकरहरु भनेको हाम्रो देशका ब्रोकरहरु हुन्, जसले किनबेचमा मात्रै फोकस गर्छन् । फुल सर्भिस ब्रोकरहरुले अन्य विभिन्न सेवाहरु समेत दिन्छन् । उनीहरुले मार्जिन लेण्डिङ, सेयर तालिम, अनुसन्धान, सेयर परामर्श लगायतका सेवाहरु पनि दिन्छन् । यसले गर्दा लगानीकर्ताहरुले ब्रोकरहरुबाट राम्रो सुविधा पाउँछन् । नेपालमा भने सेयर ब्रोकरको सेवालाई सेयर कारोबारमा मात्रै सीमित गरिएको छ । उनीहरुलाई अन्य काम गर्न दिइएको छैन । जुन, अहिले सेयर ब्रोकरहरुको मूख्य समस्याको रुपमा रहेको छ ।
नयाँ स्टक एक्सचेञ्ज खोल्ने प्रक्रिया
नेपालको सेयर बजारको भोल्युम हेर्ने हो भने त हामीलाई यहि स्टक एक्सचेञ्ज नै पर्याप्त छ । तर अहिलेको स्टक एक्सचेञ्जबाट लगानीकर्ताहरुले राम्रो सेवा सुविधा पाएका छैनन् । अहिले देशका प्रमुख शहरहरुबाट मात्रै सेयर कारोबार सम्भव छ । अधिराज्य भरी छरिएको जुन पूँजी छ, त्यसलाई एकिकृत गर्न सकेको अवस्था छैन।
अन्य प्रविधिको हिसाबले पनि हाम्रो स्टक एक्सचेञ्ज पछाडी नै परेको देखिन्छ । यस्तो अवस्थामा निजी क्षेत्रको नयाँ स्टक एक्सचेञ्ज आउने हो भने त्यसले नयाँ प्रविधि पनि भित्राउँछ । नयाँ स्टक एक्सचेञ्जले नयाँ प्रविधि भित्राएपछि अहिलेको स्टक एक्सचेञ्ज पनि प्रविधि भित्राउनतर्फ लाग्छ । आफ्नो सेवा सुविधा सुधार्न उ बाध्य नै हुनेछ।
छिमेकी मूलुक भारतको उदाहरण हेर्ने हो भने पनि नेशनल स्टक एक्सचेञ्जको स्थापाना भइसके पछि त्यहाँको पुँजी बजारले राम्रो फट्को मारेको देखिन्छ । यसर्थ नेपालमा पनि नयाँ स्टक एक्सचेञ्ज आएपछि प्रतिष्पर्धा हुने र नेपाली सेयर बजारले पनि नयाँ फड्को मार्ने देखिन्छ । अर्को स्टक एक्सचेञ्ज आएपछि धेरै कम्पनीहरु सेयर बजारमा प्रवेश गर्न सक्छन् र लगानी कर्ताहरुलाई पनि लगानी गरी प्रतिफल पाउन समेत सहज हुनेछ।
सेयर बजारका नयाँ लगानीकर्ताहरुलाई सुझाव
सेयर बजार जुवा घर होइन, यो एउटा ज्ञानको थलो हो । सेयर बजारमा अध्ययन गरेर लगानी गर्यो भने डुब्ने खतरा हुँदैन । सेयर बजारमा उतार–चढाव आइरहन्छन्। सेयर बजार उतारचढाव हुनुमा विभिन्न कारणहरु हुन्छ । होहल्लाकै भरमा सेयर बजार तलमाथि हुने भनेको कहिलेकाहीँ मात्रै हो । हल्लामा नचलेर, अध्ययन गरेर दीर्घकालिन सोच बनाएर सेयर बजारमा प्रवेश गर्यो भने राम्रो प्रतिफल पाइन्छ । धैर्य गर्नुपर्छ अवश्य पनि सफल भइन्छ ।
(विश्लेषकहरुका कुराकानीबाट साभार)