काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘वान टू वान’ वार्ता सुरु भएको छ।
सिंहदरबारमा दुई नेताबीच पार्टीमा उत्पन्न विवाद समाधानबारे वार्ता सुरु भएको हो।
यसअघि दुवै समूहका दोस्रो तहका नेता समेत सहभागी बैठकले विवाद समाधानका लागि कार्यदल बनाउने र उक्त कार्यदल गठनको जिम्मेबारी ओली र नेपाललाई दिने निर्णय गरेको थियो।
आज ओली–नेपाल वार्तामा कार्यदल गठनको टुंगो लाग्ने भनिएको छ। एमालेलाई ०७५ जेठ २ अघिकै अवस्थामा फर्काउनुपर्ने माधव समूहको माग छ।
उक्त मागप्रति अध्यक्ष ओली सहमत भएको नेपाल समूहका नेताहरुले दाबी गरेका छन्।
तर पछिल्ला वार्तामा माओवादी पृष्ठभूमिबाट आएका नेता रामबहादुर थापा बादल पनि ओली समूहबाट सहभागी भएपछि नेपाल समूहमा खैलाबैला मच्चिएको छ।
श्रोतका अनुसार माधव समूहका नेताहरुले बादल सहभागी भएको वार्तामा किन सहभागी भएको भन्दै नेतृत्वको आलोचना गरेका छन्।