काठमाडौं । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग एनएसएलको उपाधि काठमाडौं रेजर्सले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे ।
मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।
यससँगै मेसौकेले लिगमा आफ्नो आठौं गोल पूरा गरेका छन् । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् । उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ ।
उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो ।