जेपि भण्डारी, प्यूठान। दाङको भालुबाङ प्यूठान हुँदै रोल्पा जोड्ने सडकमा सवारी चाप पनि बाक्लै हुन्छ । नेता, कर्मचारीदेखि बिरामीसम्मले ओहोरदोहार गरिरहने यो सडकमा कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । सडक डिभिजन कार्यालय प्यूठानको जिम्मामा रहेको यो सडकमा सवारी साधन मात्र नभएर पैदल यात्रुलाई समेत सकस हुने गरेको छ। तर, सडक डिभिजनले सडकको अबस्था सुधार्न खासै ध्यान दिएको छैन ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका ३ बाटुले स्थित सडकमा पिच भत्किएर बनेको खाल्डोमा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरु गुडाउनसमेत समस्या भएको छ । माथिबाट आउने लेदो सहितको पानी जमेर सडक नै पोखरीमा परिणत भएको छ । अहिले दिनहुँ पानी परेका कारण उक्त सडकको अवस्था अझ विग्रेको छ ।
चार वर्षदेखि सडकको अवस्था दयनीय छ । सडक मर्मत नहुँदा ठूलो खाल्डो परेको छ, । आवतजावतमा निकै समस्या छ । तर यसप्रति सम्बन्धित निकायको चासो छैन,’ स्थानिय अशोक सुनारले गुनासो गरे । अर्का स्थानीय अनु सुनारले पनि सडक मर्मत र ढल निकासमा सरोकारवालाले बेवास्ता गरेको गुनासो गरिन।
समयमै मर्मत नहुँदा सकडमै पानीका ठूला पोखरी बन्नुका साथै दुर्घटना जोखिमसमेत बढेका स्थानीयले बताएका छन् । त्यस्का अतिरिक्त प्युठानको बड्डडाडा -चकचके सडकखण्डमा ठूल्ठूला खाल्डा बनेकाले यात्रा अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ । स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले स्थानीयले जग्गा दिन तयार नहुँदा खहरेको पानी( ढल) को निकास पाउन नसकेको बताउनुभयो। स्थानिय नै ढल निकासको लागि आफ्नो जग्गा दिन तयार हुनुहुन्न, हामीसङ्ग अन्य विकल्प छैन ।’ रोकायले भने,’ खहरेबाट झर्ने पानीलाई सडक मुनिबाट होमपाइप राखेर माडीमा पुर्याउन सकिने नगरप्रमुख रोकायको भनाई छ । साभार :कामना डेली