काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । विहीबार दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्दै छ ।काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । काँग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।
सो कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो ।
क्रियाशील सदस्यताको विवादका कारण हालसम्मका अधिवेशन कार्यतालिका प्रभावित भइसकेका छन् । तसर्थ बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई बताए । काँग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टी विधानको सुविधाअनुसार काँग्रेसले एक वर्ष म्याद गर्नुका साथै सो म्याद पनि गत फागुन २० गते समाप्त भएपछि संविधानको प्रावधानअनुसार छ महिना अवधि थप गरेको थियो ।विभिन्न कारण देखाउँदै पटक पटक महाधिवेशनको मिति सार्दै आएको काँग्रेसका लागि अब महाधिवेशनको नयाँ मिति कसरी कुन विधिअनुसार तोक्ने भन्ने सम्बन्धमा संवैधानिक चुनौती छ । प्रवक्ता शर्माले भने साढे पाँच वर्षमा सुरु हुने गरी कार्यतालिका ल्याउने विषयमा छलफल भइरहेको बताए ।
उनले भने, ‘साढे पाँच वर्षमा महाधिवेशन सम्पन्न हुन नसक्ने देखियो । अब साढे पाँच वर्षलाई टेकेर नयाँ कार्यतालिका ल्याउने विषयमा छलफल हुन्छ ।’ तर बुधबार भएको शीर्ष नेताहरुको छलफलमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट फरक(फरक प्रस्ताव आएको थियो ।देउवाले भदौ २३ भित्र अधिवेशन सुरु गरेर मंसिरसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने प्रस्ताव राखेका थिए । तर वरिष्ठ नेता पौडेलले असोजभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने धारणा राखेका थिए ।बुधबार करिब ३ घण्टा चलेको बैठकमा महाधिवेशनको मितिबारे सहमति हुन नसकेपछि शीर्ष नेताबीच केन्द्रीय कमिटी बैठकअघि छलफल हुने छ । साथै उनीहरुले निर्वाचन समितिसँग पनि छलफल गर्ने छन् । निर्वाचन समितिले महाधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यको सूची प्राप्त भएको ५६ दिन चाहिने बताएको छ ।
सरकार सम्बन्धी पनि छलफल
सभापति देउवाले सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक काँग्रेसको केन्द्रीय कमिटी बैठक बस्दै छ । असार २९ गते सरकार नेतृत्व गरेर देउवाले अहिलेसम्म मन्त्रिमण्डललाई पूर्णता दिन कसेका छैनन् । अहिलेसम्म प्रधानमन्त्री सचिवालय पनि ‘अनधिकृत’ रुपमा सञ्चालित छ । केन्द्रीय समिति बैठकमा यसबारे पनि छलफल हुने बुझिएको छ ।आजको बैठक महाधिवेशन केन्द्रित भएपनि सरकार सञ्चालन र राष्ट्रिय राजनीतिबारे पनि छलफल हुन्छ । बैठकमा स्वभाविक रुपमा सरकार सम्बन्धी कुरा पनि आउँछन्,’ शर्माले भने । देउवा प्रधानमन्त्री भएपछि उनको सचिवालयले बनाएको भिडियो विषयमा पनि कुरा उठाउने केही नेताहरुको तयारी छ । ‘मलाई देउवा मनपर्छ किनभने‘’ भन्ने भिडियो बनाएर प्रचारमा ल्याएपछि काँग्रेसकै नेताहरुले आलोचना गरिरहेका छन् । बुधबार शीर्ष नेताहरुको बैठकमा यसबारे महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतबीच चर्काचर्की परेको थियो ।साभार :रातोपाटी