वीरेन्द्र गिरी ,दाङ \छड्के न्युज -वन क्षेत्र अतिक्रमण गरेको आरोपमा डिभिजन वन कार्यालय दाङले २२ जना विरुद्ध मुद्दा चलाएको छ । लकडाउनको मौका छोपेर बबई गाउँपालिकाका(५ बबरपुरमा रहेको कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती र घर समेत बनाएको आरोपमा २२ जना विरुद्ध मुद्दा चलाइ कारबाही अघि बढाएको पुरन्धारा सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए ।बरालका अनुसार वन अतिक्रमण मुद्दा चलाइएका मध्ये २ जनालाई पक्राउ गरिएको छ । अन्य २० जना फरार रहेको र उनीहरुको खोजी भइरहेको छ ।
बस्ती नजिकैका बासिन्दा तथा टाढाटाढाबाट समेत गएर वन क्षेत्र कब्जा गर्ने, खेतीपाती गर्ने र घरटहरा समेत बनाइ अरुलाई बेचबिखन गर्ने कार्य भइरहेको पनि उनले बताए ।वन अतिक्रमण हटाउनका लागि आफूहरुले पटकपटक हटाउन अनुरोध गर्दा पनि अटेरी गरेपछि मुद्दा चलाइएको वन अधिकृत बरालले बताए । वन अतिक्रमण मुद्धामा सामुदायिक वन समूहका पदाधिकारी र सल्लाहकार समेत संलग्न रहेका छन् । सामुदायिक वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको बरालले बताए ।वन ऐन २०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्नेलाई ५ वर्ष कैद वा एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । वन क्षेत्रको अतिक्रमणमा संलग्न रहेको पुष्टि भएमा त्यस्ता व्यक्तिहरु सामुदायिक वन समितिमा बस्न नपाउने व्यवस्था पनि वन ऐनमा छ ।