सन्तोष महतारा,गुल्मी, ०४ भदौ । गुल्मीका स्थानीय सरकारहरु विभिन्न विकासका योजना तथा विकासका अभियानमा अनियमितता गर्दै आइरहेका छन् । यसको पछिल्ला उदाहरण मालिका गाउँपालिका वडा नम्बर ८ मा पूर्ण सरसफाईयुक्त वडा घोषणा अभियानमा कामै नगरी घोषणा गर्न लागिएको बिषय हो ।
पूर्ण सरसफाई हुनका लागि चर्पीको प्रयोग, व्याक्तिगत स्वच्छता, हात धुने स्थान, खानेपानीको सुरक्षा, खानाको स्वाच्छता तथा सुरक्षा र घर तथा आँगनको सरसफाइ गरी ६ वटा सूचक रहेका छन् । तर, गाउँपालिकाको वडा नम्बर ८ मर्भुङ्गमा संचालन गरिएको पूर्ण सरसफाई अभियानमा यी सबै प्रकारका सूचकलाई लत्याएर काम नगरी हचुवाको भरमा घोषणको तयारी गरिएको बिषयमा स्थानीयले गुनासो गरेपछि वडा नम्बर ८ मर्भुङ्ग र मर्भुङ्ग स्वास्थ्यचौकीले संयुक्त बिज्ञप्ती जारी गरि आफुहरुले गरेको अनियमितताको ढाकछोप गरेका छन् ।
स्थानीयले गुनासो गरेपछि विभिन्न अनलाईनमा काम भएको वा नभएको खुलाएर समाचार आएपनि अस्पष्ट विज्ञप्ती जारी गरी वडाले नै अनियमितता गर्न हौसला दिइरहेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय पुनम अर्यालले यस कार्यक्रम सम्बन्धि आफुलाई केही पनि जानकारी नभएको बताइन् । थम्मन सुनार नाम गरेका एक ब्याक्तिले क्यालेण्डर जस्तो पोष्टर ल्याएर एकपटक आफ्नो घरमा टाँसिदिएको भन्दै स्थानीय अर्यालले कार्यक्रमको बजेट सम्बन्धमा पनि केही जानकारी नभएको फ्रतिक्रिया दिइन् ।
तर यस कार्यत्रममा प्रत्येक घरमा गएर ६ वटा सूचकलाई आधार मानेर प्रत्येक सूचकमा सबै घर अब्बल भएपछि पूर्ण सरसफाई भएको मानिने बताइएको छ । सुआहारा नामक गैर सहकारी संस्थासँगको समन्वयमा १० लाख रुपैयाँ केन्द्रको बजेटमा सुरु गरिएको यस अभियानमा अपारदर्शिता देखिएपछि स्थानीयले गुनासो गरेपछि वडा नम्बर ८ का वडाध्यक्ष टिका बहादुर जिसी र मर्भुङ्ग स्वास्थ्य चौकीका प्रमुख शुशिल अर्यालले गाउँपालिकाबाट स्विकृत भई १० लाख मध्येबाट सोही अनुसार कार्यक्रम सम्पन्न भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । उनीहरुले स्थानीयको गुनासोलाई भ्रामक तथा तथ्यहिन भन्दै खेद प्रकट गर्दछौँ भनेका छन् ।
तर, उनीहरुले विज्ञप्तीमा १० लाख रुपैयाँ बजेटबाट वडामा गरिएका काम र खर्चबारे केही लेखेका छैनन् । यसरी अष्पस्ट विज्ञप्ती जारी गरी अनियमिताताको ढाकछोप गर्न लागेको स्थानीय कृष्ण अर्यालले आरोप लगाए । आफ्नो घरमा आएर एउटा पोष्टर मात्र टाँसेको भन्दै त्यो बाहेक वडामा केही काम भएको आफुले नदेखेको स्थानीय अर्यालले बताए ।
तर, मर्भुङ्ग स्वास्थ्य चौकीका प्रमुख सुशिल अर्यालले अनियमितताको ढाकछोप गर्न नखोजेको भन्दै विज्ञप्तीमा सबै खुलाउन सम्भव नभएको प्रतिक्रिय दिए । आवश्यक परेमा गाउँपालिकामा गएर सबै कागजमात्र हेर्न सकिने उनले बताए ।कागजी प्रक्रिया पूरा गरेर काम नगरी बजेट भुक्तान गर्नु भयो ।भन्ने प्रश्नमा स्वास्थ्य चौकीका प्रमुख अर्यालले काम नगरी कागजपत्र नबन्ने प्रतिक्रिया दिए । यसअघि मुसिकोट नगरपालिकाको वडा नम्बर २ मा जनप्रतिनिधिले गरेको अनियमितताको बिषयमा पनि विज्ञप्ती जारी गरी जनप्रतिनिधि उम्किएका छन् ।