काठमाडौं- विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ।
प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको विद्यालयका लागि दुई स्थायी र एक करार शिक्षकको तलब भत्ता लगायतको सुविधाको लागि वार्षिक बाह्र लाख ६५ हजार निकासा गरेको पाइएको जनाएको छ।
त्यस्तैगरी ङिस्याङ गाउँपालिका अन्तर्गतको ङावल आधारभूत विद्यालयमा एकजना पनि विद्यार्थी नभएको विद्यालयका ८ जना स्थायी शिक्षकको तलब भत्ता लगायतको सुविधाका लागि ३५ लाख ८६ हजार निकासा दिएको छ।एक जना पनि विद्यार्थी नभएको विद्यालयमा समेत करारको शिक्षक नियुक्ति गरेको देखिएको छ।यस्तो अवस्थामा विद्यालय गाभ्ने तथा शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गर्न प्रतिवेदनले सुझाव दिएको छ।साभार: हुलाकपाटी