बाँके । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका मुख्य सडकहरू निर्माण सम्पन्न भएका छन् । तर, सडक संरक्षणमा भने उपमहानगरपालिका उदासीन देखिएको छ ।
अहिले यहाँका सडकमा जथाभावी छोडिएका छाडा चौपायाले शहरको सौन्दर्यतामा ह्रास ल्याउनुका साथै दुर्घटनाको जोखिम बढाएको छ ।
नेपालगञ्जको फुल्टेक्रा, त्रिभुवन चोक बिपि चोक, पुष्पलाल चोक र सदरलाईनमा दैनिक दर्जनौँ चौपाया छाडिने गरेका छन् । त्यसरी छाडा छाडिएका चौपायाले सडक नै ओगट्ने गरेका छन् ।
चौपायाको रेखदेख गर्ने कोही नहुँदा सडकको बीचमा बसेका चौपायालाई जोगाएर सवारी चलाउन चालकलाई निकै गाह्रो हुने गरेको छ ।
खुल्ला छाडिएका चौपायाको व्यवस्थापन नगर्दा आवतजावतमा समेत समस्या भएको स्थानीय रमेश बिष्टले बताए । उनले नगर क्षेत्रभित्र खुल्ला छाडिएका चौपायाका कारण दुर्घटनाको उच्च जोखिमका साथै नगरको सौन्दर्यता समेत घट्दै गएको बताए ।
खुल्ला छाडिएका चौपायाको व्यवस्थापनमा ध्यान नदिँदा सडकमा फोहोर हुनुका साथै दुर्घटनाको सम्भावना बढ्दै गएको स्थानीय बताउँछन् ।
नेपालगञ्जमा दिनमा मात्रै नभएर रातको समयमा पनि चौपाया सडकमा हुन्छन् । यी चौपायाका धनी को हुन् भनेर पहिचान गर्नेतर्फ उपमहानगरले चासो नदिएको अर्का सुरेश यादवले बताए ।
यता, नगर क्षेत्रभित्र रहेका चौपायालाई तत्काल व्यवस्थापन गरी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने काम प्रथामिकतामा रहेको वडा प्रहरी निरीक्षक डिल्ली खड्काले बताए ।
उनले मूल सडकमा खुल्ला छाडिएका चौपायाका धनीको पहिचान गरी कारबाही गरिने प्रतिबद्धता जनाए छन् ।
उपमहानगरले सडक चौपायाहरुको व्यवस्थापन गर्न नसक्दा मेयर डाक्टर धवल शम्शेर राणाको चौतर्फी आलोचना सुरु भएको छ ।
स्मरण रहोस् तत्कालीन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइको सक्रियतामा नेपालगञ्जमा २ बर्ष पहिला सडक चौपायाहरुलाई नियन्त्रणको अभियान संचालन भए पछि उपमहानगरले वडा नं २१ मा काञ्जी हाउस संचालन गर्न बाध्य भएको थियो तर अहिले आएर उक्त काञ्जी हाउस लोप भएकोले चौपायाका कारण दैनिक दुर्घटना हुने गरेको छ ।
नगरक्षेत्रमा चौपायाको व्यवस्थापन गर्न काञ्जी हाउसको व्यवस्थापनमा उपमहानगरलाई भुमिका निर्वाह गर्न सर्वसाधारणहरुले माग गरेका छन् ।साभार : युथ टुडे न्युज