नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।पार्टीका संस्थापक नेता विपी कोइरालाको जन्मजयन्तीको अवसरमा बिहीबार सुन्दरीजलबाट प्रवक्ता शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे ।
तीन वटा निर्वाचन लगातार जितेर १५ वर्षमा देश बनाउने विपी कोेईरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टी भित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने योजना बनाएको उनको स्पष्ट पारे ।
प्रवक्ता शर्माले एउटा निर्वाचन जित्ने अर्को निर्वाचन हार्ने निरन्तरको श्रृखंला काँग्रेसको रहेको स्मरण गराउँदै त्यसले देश नबन्ने र त्यसको भागीदार काँग्रेस हुनुपर्ने अवस्था आउन नदिन पनि आफूले पार्टीलाई महामन्त्रीको जिम्मेवारीमा रहेर हाँक्न चाहेको बताए ।
प्रवक्ता शर्माले भने, ‘नेपाली काँग्रेसले दोहो¥याएर चुनाव जितेको छैन, किन ? २०४८ सालमा जित्ने, २०५१ सालमा हार्ने । ५१ मा हार्ने २०५६ मा फेरी जित्ने । २०५६ मा जितेको छ । जोगाउन सकेको छैन । फेरी २०६४ मा हार्ने । २०६४ मा हार्ने फेरी फर्काएर २०७० मा जित्ने । २०७० मा जित्ने तर फेरी २०७४ मा हार्ने । नेपाली काँग्रेस पार्टीले एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने हो भने विपीले १५ वर्षमा देश बनाउँछु भनेर लगातार तीन वटा निर्वाचन जित्न गरेको परिकल्पना र त्यो स्पिरिटलाई सम्बोधन गर्न सकिन्न । र देश निर्माण गर्न सकिन्न । देश अस्थिरताको जञ्जालमा पर्छ । यही प्रकारको अप्ठ्यारोमा पर्छ र त्यो बेलामा देश बनेन् भने कम्युनिष्टहरुलाई मात्रै होईन्, प्रश्न काँग्रेसलाई पनि आउँछ । त्यसैले आज म उद्घोष गर्न चाहन्छु, संकल्प गर्न चाहन्छु–नेपाली काँग्रेसको आगामी महाधिवेशनबाट नेपाली काँग्रेसको महामन्त्रीको जिम्मेवारीमा गएर, तपाईँहरु सबैको साथ, सहयोग र समर्थन लिएर एउटा यस्तो सपनाका साथ नेपाली काँग्रेसलाई ‘ड्राईभ’ गर्नु पर्छ भन्ने घोषणा गर्न चाहन्छु ताकि नेपाली काँग्रेसले तीन वटा निर्वाचन लगातार जितेर देशलाई एउटा बाटो दिनुपर्छ ।’
प्रवक्ता शर्माले मुलुक निर्माण गर्ने गरी साझा दृष्टिकोणका साथ अघि बढन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । कम्युनिष्टहरुलाई गाली गरेर होईन् नेपाली जनतामा विद्यमान रोग र भोकको समस्या समाधान गरेर काँग्रेस अघि बढनुपर्नेमा उनको जोड छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । काँग्रेस युवा नेता गगन थापाले सोही महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् काँग्रेसको बिधानमा २ जना महामन्त्री हुने व्यवस्था गरिएको छ । काँग्रेस वृतमा महामन्त्रीका लागि युवा नेता प्रदीप पौडेलले पनि उम्मेदवारी दिने चर्चा छ । साभार : एन्जेन्सी