सुशीला रेग्मी/भदौ ३१, पाल्पाः घरमा पालिएका गाईले उत्पादन दिन छाडेसँगै हेलत्व बनेका गाईको संरक्षणमा जुटेको रामपुर नगरपालिका यतिखेर अरुका लागि पनि अनुकरणीय बनेको छ । हिन्दु धर्मग्रन्थमा लक्ष्मीका रुपमा मानिने र मानिसका जन्म र मृत्यु संस्कारमा अत्यावश्यक गाईको संरक्षणका लागि नगरपालिकाले गौशाला सञ्चालनमा ल्याएको हो ।
कालीगण्डकी तटमा अवस्थित तातोपानीधाम लक्ष्मीनारायण मन्दिर अगाडी करिब सात रोपनी क्षेत्रफलमा पक्की पर्खालले घेराबार गरी व्यवस्थित तरिकाले गाई संरक्षण भइरहेको छ ।
गौशाला सञ्चालनमा आएसँगै यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कालीगण्डकी नदी स्नान गरी यहाँ रहेको लक्ष्मीनायण मन्दिर तथा गौशालाको दर्शन गर्नेको चहलपहल बढ्दो छ । बिशेषगरी यहाँ विभिन्न धार्मिक कार्यमा गौशाला प्रयोगमा आएपछि अवलोकन गर्न आउनेको संख्या धेरै भेटिन्छ ।
भौगोलिक हिसावले पनि अति उत्तम रहेको यस क्षेत्रमा गौशाला प्रयोगमा आएपछि धार्मिक तीर्थालु बढ्दै गएको पाइएको छ । कालीगण्डकीको रमणीय दृश्यसँगै रमाउँदै गौशाला अवलोकन गर्ने युवापुस्ताको पनि उपस्थिति राम्रै छ ।
रामपुरमा विभिन्न ठाउँबाट छाडा छाडिएका गाई भित्रिएर खेतबारीका बालीनाली खाएर सखापै पारेर स्थानीयलाई हैरानी बनाएको थियो । यत्रतत्र छरिएर दिनहुँ समुहमा १०÷१५ वटा छाडा गाई किसानको खेतबारीमा पसेर एकै पटक बालिनाली नै सखापै पार्ने गरेको थियो । उत्पादन लिने बेला भएका तरकारी, अन्नबाली छाडा पशु चौपायाले खाएर लगानी नै उठाउनै नसकिएको अवस्था पनि किसानले भोग्नुप¥यो ।
अहिले व्यवस्थित रुपमा गौशाला निर्माण गरी गाई व्यवस्थापन गरिएपछि छाडा गाईको समस्याबाट स्थानीय मुक्त भएको गौशाला भवन निर्माण समितिका संस्थापक अध्यक्ष ओमप्रकाश रेग्मीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “समुह बनेर आएका छाडा पशु चौपायाले खेतबारीमा पसेर बालीनाली नै सखापै बनाउँथ्यो, छाडा पशु चौपायाको आतङ्कले खेतबारीका तरकारी, अन्नबाली, फलफूल खाएर उत्पादन पनि लिन पाइने नपाइने पिरलोले सताउँथ्यो, अब व्यवस्थित रुपमा गौशाला तयार गरी गाई बाँध्न थालेपछि छाडा पशु चौपायाको समस्या टरेको छ ।”
हाल यहाँ समितिको मातहतमा १४० गाई छन् । जसमध्ये ३० गाई स्थानीयले शौखका रुपमा घरमा लगेर पाल्न थालेका छन् । तीन वटा गोठको संरचनामध्ये दुई वटामा गाई बाँधिएको छ भने एक वटा दानापानी, पशुआहार व्यवस्थापन गरिएको छ । हाल ११० गाई रहेपनि १५० सम्म गाई अट्ने संरचना निर्माण गरिएको छ । अहिलेसम्म धेरैमा १६० गाई सम्म समितिले व्यवस्थापन गरेको छ ।
विसं २०७६ को फागुन ९ गते शिवरात्री पर्वको अवसर पारी ७५ वटा गाई गौशालामा बाँध्न थालिएको हो । फागुन १२ देखि २० गते सम्म सञ्चालन गरिएको गौ संरक्षण तथा गौशाला व्यवस्थापन सहयोगार्थ श्रीमद्भागवत धनधाञ्याञ्चल ज्ञान महायज्ञबाट नगद रु ५० लाख, जग्गा तथा जिन्सी रु एक करोड गरी जम्मा रु एक करोड ५० लाख सहयोग जुटेको छ ।
गौशाला निर्माणका लागि रामपुर नगरपालिकाबाट आर्थिक वर्ष २०७५÷०७६ मा रु २० लाख, आ.व.०७६÷०७७ मा रु २५ लाख, आ.व.०७७÷०७८ मा रु २५ लाख, लुम्बिनी प्रदेश सरकारबाट आ.व. ०७७÷०७८ मा रु सात लाख र पतञ्जली योग पिठद्धारा रु ११ लाख सहयोग प्राप्त रकमबाट विभिन्न भौतिक संरचना निर्माण गरिएको व्यवस्थापक निलकण्ठ भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार गाईको मलबाट हालसम्म रु दुई लाख ३८ हजार आम्दानी भएको छ भने जन्मदिनको उपलक्ष्यमा, वैतर्णी दान, पितृतिथीबाट पनि सहयोग रकम जुटेको छ । गाईको संख्या बढी रहेको हुदा सबैलाई व्यवस्थापन गर्न भने चुनौती थपिएको छ । पशुआहार, कुपोषण र किरा अटेर्नाको समस्या छ ।
“धेरै गाईलाई व्यवस्थापन गर्न समस्या परेको छ, दिनभर चरनका लागि अन्यत्र लगिन्छ, बिहान साँझ पराल, दाना, चोकर खुवाउन समस्या नै छ, सानो सानो सहयोग पनि जुटिरहेको छ तर दैनिक पशु आहारमा धेरै खर्च हुने हुदा व्यवस्थापनमा सकस छ” व्यस्थापक भण्डारीले भन्नुभयो ।
छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न, धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गौशाला सञ्चालनमा ल्याइएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष तथा रामपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ । नगरपालिकाले मात्रै खर्च व्यवस्थापन गर्न नसक्दा पशु आहारमा समस्या परेको अध्यक्ष न्यौपानेको भनाई छ ।
गाई व्यवस्थापनका लागि एक जना व्यवस्थापक सहित पाँच हेरालु राखिएको छ । रामपुर नगरपालिका वडा नं ६ विजयपुर बजारमा केही समय छाडा छाडिएका गाई अस्थायी टहरा बनाएर व्यवस्थापन गरिएको थियो । गौशालामा संरचना तयार भएपछि व्यवस्थित रुपमा गाई बाँध्न थालियो ।
गौशाला व्यवस्थापन समितिले रु पाँच हजार एक सय शुल्क तिरेर आजीवन सदस्यता प्रदान गर्ने गरेको जनाएको छ । आजिवन सदस्यता लिएका व्यक्तिका परिवारबाट ल्याइएका गाईलाई गौशालामा समितिले राख्ने गरेको छ ।
आजीवन सदस्यता लिएका व्यक्तिबाट आएका गाईलाई एक गाई बराबर रु तीन हजार शुल्क तिरेर लिने नियम छ । समितिले अहिलेसम्म विभिन्न ठाउँबाट ल्याइएका गाईलाई गौशालामा व्यवस्थापन गर्दै आएको छ । आजिवन सदस्यता लिई गाई ल्याउने परिवार ३६ छन् ।
तातोपानीधामको महत्व
कालीगण्डकीको तटमा अवस्थित यस तातोपानीधाम पर्छ । यहाँ एउटा पुरानो तातोपानी मूल छ । परापूर्वकाल देखि यहाँ तातोपानी मूलमा आउने पानी जाडो महिनामा तातो हुने, गर्मी महिनामा चिसो हुने भएकाले यस ठाउँको नाम तातोपानी रहन गएको हो ।
विसं २०२८ मा खगेन्द्र कंडेल (आमाजी) द्धारा वैष्णव त्रिवेणीबाट सञ्चालित लक्ष्मीनारायण मन्दिर स्थापना गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिन थालियो । लक्ष्मीनारायण मन्दिरको नाममा मन्दिर परिषरमा दश रोपनी जग्गा र चौध रोपनी खेत (गुठी) छ ।
पवित्र कालीगण्डकी नदी संगै जोडिएको यस लक्ष्मीनारायण मन्दिर, गौशालाले रामपुरको धार्मिक पर्यटन विकास हुदै गएको मन्दिर व्यवस्थापन सञ्चालक समितिका सदस्य पिताम्वर भण्डारी बताउनुहुन्छ ।
“कालीगण्डकी स्नान गरी लक्ष्मीनारायण मन्दिरमा पुजाआजा, गौशालामा पुगेर गाईको दर्शन गरेर मात्र भक्तजनहरु पmर्कनुहुन्छ, गौशाला बनाइएपछि यस क्षेत्रमा धार्मिक चहलपहल बढेको छ” उहाँले भन्नुभयो । गौ रक्षका निम्ति यहाँ गौशाला निर्माण गरी गरिएको यस कार्य उदाहरणिय बनेको छ ।
गाईको महत्व
गाई हिन्दुहरुको पवित्र र पुण्य जनावर हो । हिन्दुहरुका कर्मकाण्डहरुमा गाईको गोबर, मूत्र र दूधलाई अनिवार्य रुपमा प्रयोग गरिन्छ । शुद्ध शक्तिका लागि गाईबाट प्राप्त हुने यस्ता वस्तुहरुको महत्व ठूलो रहेको छ ।
नेपालमा पाइने गाईको दूध, गहुँत र गोवरलाई वैज्ञानिक अध्ययन अनुसन्धानले पनि पवित्र र शुद्ध छानेको हुनाले गाईलाई नेपाली धर्म संस्कारमा गौमाता भनेर पूजिने गरिएको छ ।
जैविक, साँस्कृतिक, धार्मिक र आध्यात्मिक सबै रुपमा गाई अत्यन्त उपयोगी जनावर हुन् । त्यसले आदिमकालदेखि नै मानिसहरु गाईलाई बहुगुणी जनावरका रुपमा मान्दै आएको हुनाले गाईको महत्व बढ्दै गएको गौशाला व्यवस्थापन समितिका सल्लाहकार तथा रामतुलसी माविका शिक्षक लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ ।
गाई रक्षा र गौ–पालनलाई संघीय, प्रदेश र स्थानीय सरकारबाट राष्ट्रिय जनावर गाईको महत्व, आवश्यकता प्रवद्र्धन गर्न बिशेष योजना बनाएर सहयोग पु¥याउनुपर्ने उहाँको भनाई छ ।
अनेकन खालका विकासका नाममा नेपाली स्थानीय जातका गाईको महत्वलाई नबुझेर संरक्षण गर्न, पालन गर्न नचाहनेको संख्या धेरै बढ्दै गए । त्यसकारण गाईको अपार गुण र महिमालाई कायम राखी अझ बृद्धि गर्न, गाईको दीगो संरक्षणका लागि पवित्र कृष्ण गण्डकीको किनारमा कालीगण्डकीको उपत्यकाको समेत महिमा बढाउने गरी स्थानीय नगरपालिका, गौ–रक्षामा लागेका व्यक्तित्वहरु, विभिन्न तह तथा संघ संस्थाको सहयोगमा गाईको रक्षार्थ गौशाला निर्माण गरिएको हो ।