काठमाडौँ । रूपन्देहीको मोतीपुर घटनामा मारिने व्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत दिने भएको छ।
लुम्बिनी सरकारले प्रहरीसँगको झडपमा मृत्यु भएका चारैजनाको परिवारलाई राहत स्वरूप जनही एक/एक लाख रूपैयाँ दिने घोषणा गरेको हो। हिजो आइतबार बुटवल उपमहानगरपालिका-१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप भएको थियो। झडपमा चारजना सुकुम्वासीको प्रहरीले हानेको गोली लागी मृत्यु भएको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १/१ लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिए। साथै, घटनामा परी घाइते भएकाहरूको उपचारमा समेत कमी आउन नदिने निर्णय भएको शर्माले बताएका छन्।घटनामा प्रहरी र सर्वसाधारण गरी ५०जना भन्दा बढी घाइते भएका छन्। यस्तै, मृत्यु हुने चारजनामध्ये मात्र दुईजनाको परिचय खुलेको बताइएको छ भने दुईजनाको सनाखत हुन बाँकी नै छ।