रमेश बिश्वकर्मा / कार्तिक ०६गुल्मी /छड्के न्युज डटकम-गुल्मीमा विद्युत, यातायात, दुरसञ्चार लगायतका विषयमा सरोकारवाला निकायहरु बीच छलफल भएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेलको अध्यक्षता जिल्ला प्रशासन कार्यालय गुल्मीमा विद्युत, यातयात, दुरसञ्चार लगायतका विषयमा सरोकारवाला निकायहरु बीच छलफल गरिएको हो ।
सरोकारवाला निकायहरु बीच भएको छलफलमा विद्युत कार्यालयबाट जिल्लाको विद्युत सेवा प्रणालीको प्राविधिक परिक्षण गरी समस्या समाधान गर्ने तथा आवश्यक परेमा केन्द्रबाट समेत प्राविधिक झिकाई समस्या समाधान गर्ने निर्णय गरिएको छ । विद्युत कार्यालय गुल्मीबाट विद्युत सेवा र कार्यालयबाट भई रहेका थप सुधारका कार्ययोजना सम्बन्धमा आम नागरिकलाई सु–सुिचत गराउने निर्णय समेत भएको हो ।
दुरसञ्चारको क्षेत्रमा नेपाल टेलिकमले हाडहाडे, नयाँगाउँ, जैसिथोक, आपचौर, दौंघा र नेटा दर्लिङमा १ महिनाभित्र अन–एयर गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । भुवाचिदी, ग्वाघा, रेसुङ्गा पोखरीमा टेण्डर स्वीकृत भएकोले शीघ्र निर्माण कार्य गर्ने र घमिर मुसिकोट र भाडगाउँमा टावर थप गर्न केन्द्रमा अनुरोध गर्ने निर्णय समेत भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । यातायात सेवालाई व्यवस्थित गर्ने, चाडपर्वका समयमा व्यावसायिक संस्थाहरुले थप गाडीको व्यवस्था गर्ने, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्ने र दुर्घटना न्युनिकरणका लागी प्रशासनले आवश्यक अध्ययन प्रारम्भ गर्ने पनि निर्णय भएको छ ।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका देवी प्रसाद पौडेल, नेपाल टेलिकम गुल्मीका कार्यालय प्रमुख रुक्मागत सापकोटा, विद्युत प्राधिकरणका कार्यालय प्रमुख इश्वर कुमार श्रेष्ठ, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी, नागरिक समाजका संयोजक पदम प्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पूर्व अध्यक्ष जनार्दन घिमिरे लगायतको सहभागिता रहेको थियो ।