कृष्ण अन्जान/ कार्तिक ०७ गुल्मी / छड्के न्युज डटकम -पहिरोका कारण अवरुद्द कालिगण्डकी करिडोरको रिडी रुद्रवेणी सडक खुलाउन सकस भएको छ । रुरुक्षेत्र २ याढुँग तल पट्टीको भैलिखाने डाँडै खसेर सडक अवरुद्द भएपछि बिगत तीन दिन देखि इलाका प्रहरी कार्यालय रिडीको समन्वय र पहलमा सगुन कन्ट्रक्सनका दुईवटा जेसिभि पहिरो फाल्ने काममा अनवरत लगाईरहँदा पनि माथिबाट ढुँगा र माटो खसिरहेकाले सडक सुचारु हुन सकेको छैन ।
काम जारी छ तर माथिबाट झर्ने ढुँगाका कारण जेसिभिलाई समेत जोखिम भएको छ । ढुँगा झरिरहेका छन पहिरो थामिएको छैन साह्रै गाह्रो भएको छ, पहिरो स्थलबाट इलाका प्रहरी कार्यालय रिडीका इन्चार्ज समेत रहनु भएका प्रहरी निरिक्षक शुभराज बमले जानकारी दिनुभयो ।
पहिरोको माथिल्लो खण्डमा पनि मानिस परिचालन गरेका छौँ माथिल्लो क्षेत्रबाट कुलो काटेर पानी तर्काउने प्रयास पनि गरिएको छ हामीले हाम्रो तर्फबाट सडक सुचारु गर्न सबै उपायहरु अपानाएका छौँ तर ठुलो पहिरो र जोखिम भएकाले समय लागेको निरिक्षक बमले बताउनु भयो ।
पहिरो गएको क्षेत्रबाट जोखिम कै कारणले सर्वसाधारणलाई आवत जावत गर्न पनि रोक लगाईएको छ । सडक सुचारु नभएपछि सावारी तथा ढुवानीका साधन हरु बैकल्पिक सडक प्रयोग गरि आवत जावत गरिरहेका छन । कालिगण्डकि करिडोर अन्तरगतको यो सडक खण्डमा पटक पटक धुले पहिरो समेत जाने गर्छ तर यो पटक गतहप्ता परेको अविरल वर्षका कारण गएको भिषण पहिरोले सडक अवरुद्द रहेको छ ।