कार्तिक १२,काठमाडौं । असोज ११ गतेको बुद्ध एयर ‘ल्याडिङ’ प्रकरणबारे छानविन टोलीले चालक दलकै दोष देखाएको छ । उक्त दिन बुद्ध एयरको विमानमा कुनै समस्या नदेखिएको, ल्याण्डिङ गियर पनि ठीकै भएको वरिष्ठ क्याप्टेन ददिराम निरौलासहित चार सदस्यीय विज्ञको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवदेनमा जहाजको ल्याण्डिङ गियर सबै खुलेको, ‘डिम–लाइट’ मोडमा रहेको बत्ती दिउँसो विमानको बत्तीको ‘ब्राइटनेस’ बढाउनुपर्नेमा नबढाइएको पाइएको छ ।
यसैगरी ल्याण्डिङ गियर नखुलेको सन्दर्भमा चालक दल झुक्किएको प्रतिवेदनमा भनिएको छ । तर, पांग्रा खुलेन भन्ने कुरा झूठो र पाइलट झुक्किएको प्रतिवेदनमा उल्लेख छ ।
पाइलटले जहाजभित्र रहेका रातो, हरियो, नीलो, पहेंलो र सेतो रङका संकेत बत्तीलाई प्रयोग गर्न नजान्दा जहाजले अवतरण गर्न नसकेको प्रतिवेदनमा भनिएको छ ।
त्यस दिनको घटनाबारे अनुसन्धान गर्दा निरौलासहितको टोलीले उडानमा को–पाइलटले टेस्ट बटन जाँचेको नपाइएको पनि प्रतिवेदनमा उल्लेख छ । जुन बटमले टेस्ट, डिम र ब्राइट गरी तीन प्रकारका संकेत दिने गर्छ ।
जहाज उडाउनुअघि ककपिटका सबै बत्ती चेक नगरेको देखिएको पनि अनुसन्धानमा खुलेको छ । अनुसन्धान टोलीले यसबारे क्याप्टेन एजी शेर्पालाई जानकारी गराउँदा क्याप्टेनले आफूले त्यस्तो नदेखेको जवाफ दिएका छन् ।छानविन समितिले उक्त घटनाको मुख्य दोषी क्याप्टेन शेर्पालाई मुख्य देखाएको छ भने इजाजत तीन महिनाका लागि र प्राधिकरणमा रहेको डीसीपीको इजाजत ६ महिनाका लागि निलम्बन गरेको छ ।
क्याप्टेन शेर्पाले बुद्धकै प्रशिक्षक पाइलटसँग २५ घण्टा र शेर्पासँगै उडानमा रहेका को–पाइलट अमन अन्सारीले ५० घण्टा अनिवार्य उडेपछि मात्रै प्राधिकरणले उनीहरूलाई उन्मुक्ति दिने भनिएको छ ।असोज ११ गते काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न सकेन । त्यसपछि विराटनगरबाट काठमाडौं नै फर्काइएको थियो ।
काठमाडौं फर्केपछि पनि जहाज अवतरण गर्न सकेन । विमानभित्र रहेका यात्रुहरुले त्यसपछि थाहा पाएपछि जहाजबाटै हामफाल्नसम्म खोजेका थिए ।जहाजमा ७३ यात्रु रहेका थिए । अनुसन्धानले १५ हजार घण्टा जहाज उडाइसकेका वरिष्ठ क्याप्टेन अनि पाइलटका पनि गुरु–पाइलटबाट यस्तो गल्ती हुनु गम्भीरतापूर्वक लिएको छ ।( news24)