कार्तिक २२,पाल्पा– दुई वर्षअघिसम्म दशैं, तिहार जस्ता चाडपर्वमा पाल्पाली ढाकाको माग अत्यधिक हुन्थ्यो । तर कोरोना भाईरस संक्रमण पछिको दशैं र तिहारमा पाल्पाली ढाकाका पसल सुनसान जस्तै छन् ।
पाल्पाली ढाकाको मुख्य सिजन नै दशैं र तिहार हो । तिहारमा भाईटीका लगाएर दिदीबहिनीहरुले दाजुभाइलाई उपहारका रुपमा ढाका र ढाकाबाट उत्पादित सामग्री दिने प्रचलन छ । तर, यसपाली पनि व्यापारीले सोचे झै व्यापार हुन सकेन ।
तिहारमा ढाकाको चोली, पछ्यौरी, टोपी, टाई, ब्याग, इष्टस्कोट, कोटलगायतका सामग्री उपहार दिने चलन छ । दुई वर्षअघिसम्म यस्ता सामाग्री खरिद गर्न घुइाचो नै लाग्दथ्यो । तर पछिल्लो दुईवर्ष ढाका उद्योग र यसको व्यापार कोरोना महामारीको चपेटामा परेको छ ।
पाल्पामा उत्पादित ढाकाका सामग्री अधिकांश जिल्लामा पुर्याइने गरेको छ । तर, कोरोना महामारीका कारण दुई वर्षदेखि व्यापारमा आएको कमीले उत्पादक र व्यापारीमा निराशा थपेको छ ।