मनोज कार्की/ छड्के न्युज डटकम /गुल्मी ०५ गुल्मी-नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उदेश्यले सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पछिल्लो समय स्वास्थ्य बीमामा गुल्मीका नागरिकको आर्कषण बढ्दै गएको तथ्याङ्कले देखाउँछ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको महत्व र प्रभावकारीता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बीमा गर्नेको संख्या दैनिक बढ्दै गएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख डिकेन्द्र बिष्टले बताए ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गर्ने र स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ २०७६ माघ २१ गते देखी गुल्मीमा सुरु गरिएको थियो । गत असोज अन्तिमसम्म जिल्लामा ७२ हजार ६ सय ५ जना नागरिकले स्वास्थ्य बीमा गराएका छन् । ३ हजार ५ सय रुपैयाँमा एक परिवारका ५ जना सदस्य भएको परिवारले १ लाख बराबरको स्वास्थ्य सेवा पाउँछन् । परिवारका सदस्य बढि भएमा प्रतिब्यक्ति ७ सय तिरेर बार्षिक २० हजारका दरले स्वास्थ्य सेवा पाउने गर्दछन् । जिल्लामा २ नगरपालिका र १० गाउँपालिका रहेका छन् । गुल्मीका सबै स्थानिय तह मध्ये रेसुङ्गा नगरपालिकाका नागरिकले सबै भन्दा बढी स्वास्थ्य बीमाको सदस्यता लिएका छन् भने कम मदाने गाउँपालिकामा लिएका छन् ।
रेसुङ्गा नगरपालिकामा १२ हजार ५ सय ७५ जनाको परवारले स्वास्थ्य बिमा गरेका छन् । त्यस्तै मुसिकोट नगरपालिकामा ३ हजार ९सय ३१ जनाले स्वास्थ्य बिमा दर्ता गराएका छन् । कालगण्डकी गाउँपालिकामा ४ हजार ४सय ४३ , मालिकामा ४ हजार ३ सय ७९, सत्यवतीमा १० हजार ३ सय ११, जनाले स्वास्थ्य बिमा सदस्यता लिएका छन् । मदानेमा १ हजार ६ सय ३ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । रुरु क्षेत्रमा स्वास्थ्य बिमा गराउनेहरुको संख्या ७ हजार ५ सय ९० जना छ भने छत्रकोट गाउँपालिकामा ५ हजार ९३२ जनाले स्वास्थ्य बिमा गराएका छन् । धुर्कोट गाउँपालिकामा ४ हजार ९२ जना, गुल्मी दरबार गाउँपालिकामा ४ हजार ७ सय ५४ जना, इस्मा गाउँपालिकामा २ हजार ८सय २३ जना र चन्द्रकोट गाउँपालिकामा २ हजार १ सय ७६ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बीमा बोर्डका प्रमुख बिष्टले जानकारी दिए ।
गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि अस्पतालमा उपचार गराउनेको संख्या दोब्बर बढेको बताए । विगतमा सरदर दैनिक एक सय जनाको हाराहारीमा बिरामी आउने गरेकोमा यस कार्यक्रम सञ्चालन भएपछि दैनिक दुई सयदेखि साढे दुई सय सेवाग्राही आउने गरेका छन् ।