आगामी १० पुससम्मका लागि दिउँसो ६ घण्टा सडक पूर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालयले जनाएको छ। तर, सुरक्षा निकायका गाडी र एम्बुलेन्सलाई भने चल्न दिइनेछ। अन्य गाडीहरू प्रत्येक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म बन्द रहनेछन्।
सडक डिभिजनका अनुसार तानसेन-रिडी सडक खण्डको लघुवादेखि जोर्तेसम्मको सडक चौंडा गर्ने काम पनि जारी छ। सडक पूर्ण रूपमा बन्द गरेर काम सुरू गरिएकाले समयमै काम सकिने सडक डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए।
तर, यात्रु र चालकले भने निर्माण व्यवसायीले सुस्त गतिमा काम गरेकाले सडक निर्माण समयमै सकिनेमा आशंका व्यक्त गर्ने गरेका छन्। यो सडक खण्डको ठेक्का अघिल्लो आर्थिक वर्षमै भएको थियो। तर, ठेक्का लिएको सडकमा ठेक्का अवधिको म्याद गुज्रिसक्दा पनि अझै काम सम्पन्न हुन सकेको छैन।
दुई करोड लागतको सडक निर्माणका लागि दैनिक ६ घण्टा बन्द गरिएपछि यात्रुले भने सास्ती पाउने भएका छन्। यसबाट बुटवल हुँदै गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रुहरू प्रभावित हुनेछन्। डिभिजन सडक कार्यालयले भने सडक बन्द रहेको समयमा साना सवारीलाई जोर्ते, लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडाको सडक प्रयोग गर्न भनेको छ। तर, ठूला सवारीसाधन सञ्चालनमा भने समस्या हुने देखिएको छ। -न्युज कारखाना