पौष ०९, काठमाडौ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते एकै पटक गर्न सरकारलाई सिफारिस गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूसँग शुक्रवार भएको छलफलमा आयोगका पदाधिकारीहरूले सबै स्थानीय तहको निर्वाचन १४ वैशाखमा एकै पटक गर्न प्रस्ताव गरेका छन् ।
खर्चमा मितव्ययितादेखि सुरक्षा र समग्र निर्वाचन व्यवस्थापनमा सहजता र मतदाता शिक्षा सामग्रीहरूमा एकरूपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने भएकाले एकै दिन एकै चरणमा निर्वाचन गर्नु उपयुक्त हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाई थियो ।यदि एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने पनि आयोगले जनाएको छ ।स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरूको पदावधि ५ जेठमा समाप्त हुँदै छ ।
संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ ।जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गर्ने बताएका छन् ।