गुल्मी – गुल्मीमा लुकिछिपी वनमा आगो लगाउने एक जनालाई डिभिजन वन कार्यालय गुल्मीले पक्राउ गरेको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने इस्माकै कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको डिभिजनल वन अधिकृत जीवन पङ्गेनीले बताउनु भएको छ ।
बस्नेतले गएको १० गते जडीबुटी उद्यानमा आगो लगाएको भन्ने प्रमाणका आधारमा डिभिजन वन कार्यालय गुल्मीका वन कर्मचारीले बस्नेतलाई पक्राउ गरी वन अपराध मुद्दामा जिल्ला अदालत गुल्मीमा पेस गरिएको छ।
आगलागीमा संलग्न बस्नेतलाई अनुसन्धानका लागि गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीमार्फत् एक करोडभन्दा धेरै लगानी गरी जडीबुटी उद्यान निर्माण गरिएको थियो ।
वन उद्यानमा रोपिएका एक सय भन्दा धेरै विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो । वन ऐन २०७६ अनुसार वन क्षेत्रमा आगलागी गर्ने व्यक्तिलाई साठी हजार रुपैयाँ जरिबाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ ।
वन वातावरण संरक्षण जस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा उल्टै राजनीतिक दलहरुको दबाबका कारण वन मुद्दाको अनुसन्धान कार्यमा बाधा पुर्याउन खोजेको डभिजनल वन अधिकृत पङ्गेनीले बताउनुभएको छ।