पौष २१, गुल्मी : गुल्मी जिल्लामा १२ हजार ८ सय ७१ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, गुल्मी, जिल्ला प्रशासन कार्यालय, गुल्मी र ११ पालिकाका स्थानिय स्तरमा गरिएको मतदाता नामावली संकलनमा १२ हजार ८ सयभन्दा धेरै मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, गुल्मीले जनाएको छ ।
मंसिर १७ देखि पुस ८ गतेसम्म दुई चरणमा ११ स्थानिय तहमा भएको मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट ६ हजार ६ सय ७७ जना नयाँ मतदाताको व्यक्तीगत विवरण संकलन गरिएको छ । जसमा महिला २ हजार ९ सय १४ र पुरुष ३ हजार ७ सय ६३ जना रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकारी श्याम पाण्डेले बताए ।
११ पालिकामा सबैभन्दा धेरै मुसिकोट नगरपालिकामा ९ सय १६ जनाको मतदाता नामावली संकलन गरिएको छ भने सबैभन्दा कम मदाने गाउँपालिकामा ३ सय ३७ जनाको मतदाता नामावली संकलन गरिएको छ ।यस्तै कालिगण्डकीमा ६ सय ३, चन्द्रकोटमा ७ सय ४३, सत्यवतीमा ७ सय ४१,रुरु क्षेत्रमा ५ सय ६६, छत्रकोटमा ८ सय १७, गुल्मीदरबारमा ४ यय ४१, इश्मामा ५ सय १८, धुर्कोटमा ५ सय १ र मालिकामा ४ सय ९७ जना मतदाता थपिएका हुन् ।
रेसुङ्गा नगरपालिका बाहेक जिल्लाका एघार स्थानीय तहमा दुई चरणमा मतदाता नामावली संकलन भएको थियो । रेसुङ्गा नगरपालिका जिल्ला सदरमुकाम भएकाले प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाटै नामावली संकलन गरिने क्रम जारी छ ।जिल्ला निवार्चन कार्यालय र जिल्ला प्रशासन कार्यालय, गुल्मीमा भाद्र १ देखी पौष २० गतेसम्म ६ हजार १ सय ९४ जना मतदाता नामावली संकलन गरिएको निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकारी पाण्डेले जानकारी दिए।
जसमा २ हजार ८ सय ८६ महिला र पुरुष ३ हजार ३ सय ८ जना थपिएका हुन् । गुल्मीमा यसअघि २ लाख १० हजार मतदाता रहेका थिए ।अहिले थपिएका नयाँ मतदातासंगै जिल्लामा २ लाख २२ हजार ८ सय ७१ जना मतदाता भएका छन् । मतदाता नामावली ऐन २०७३ अनुसार मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने विधि र प्रक्रिया अनुसार नामावली संकलन गरिएको हो ।