छड्के न्युज डटकम /फागुन २७ गुल्मी : निर्वाचनको समयमा जनप्रतिनिधिले मतदाता दिएका वाचा विस्तारै पूरा गर्न तर्फ लागेका छन् । जनता आवास कार्यक्रम अन्तरगर्त खरका छाना विस्थापित गरी गुल्मी जिल्लामै खरका छाना मुक्त गर्ने दोस्रो गाउँपालिकाको रुपमा मदाने गाउँपालिका बनेको छ । बषौंदेखी सल्लीपिराल ,खरबाट छाएको घरमा बर्खायाममा आकाशेपानी चुहिने र गर्मीयाममा आगोको जोखिममा रहेका मदानेका गरिब,विपन्न परिवारका घरमा गाउँपालिकाले जस्तापाता दिएपछि गाउँनै निलो जस्तामा परिणत भएका छन् । अहिले गाउँबस्तीका घरहरु निलो टिनले सिगाँरिएका छन् । घरमा जस्तापाता लगाएपछि प्रत्येक बर्ष खर र सल्ली पिराले छाउने झनझटबाट मुक्ति पाएको स्थानिय बताउँन् ।
जिल्लाको मदाने गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गरिएको छ । विहिवार एक कार्यक्रम आयोजना गरी पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्णराज विष्टले खरका छाना मुक्त कार्यक्रम घोषणा गर्नुभएको हो । बर्खामा पानी चुहिने र गर्मीमा आगोको समस्या झेल्दै आएका मदानेबासीमा गाउँपालिकाले जस्तापाता लगाईदिएपछि विपन्न परिवारको अनुहारमा मुस्कान थपिएको छ ।धुर्कोट गाउँपालिकाले गुल्मीमै पहिलो पटक असार २७ गते खरका छाना मुक्त गाउँपालिका घोषणा गरिसकेको छ ।
मदाने गाउँपालिका र प्रदेश सरकारबाट खरका छाना मुक्त कार्यक्रमको लागी ३ करोड बजेट विनियोजन गरिएपनि २ करोड ८४ लाख ३७ हजार ४ सय २० रुपैयाँ खर्च भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले बताए। गाउँपालिका भित्र ७ सय २९ घरमा जस्तापाता लगाइएको छ ।स्थानीय तहको पहिलो निर्वाचन २०७४ असार २० मा निर्वाचित भएका मदाने गाउँपालिकाका जनप्रतिनिधिहरुले पहिलो औपचारिक कार्यपालिकाको बैठकमा गाउँपालिका भित्र भएका खरका छाना हटाउने निर्णय गरेका थिए । खरको छानो मुक्त बनाउने निर्णय गरिएको ३ वर्षमा गाउँपालिका अन्तर्गतका सबै घरहरू खरका छाना मुक्त गरिएपनि कोरोना महामारीले घोषणा गर्न केही ढिला भएको जनप्रतिनिधि बताउँछन् ।