गुल्मी – नागरिकको परिचय दिन वा राज्यले प्रदान गर्ने सेवा सुविधाको उपभोग गर्नका लागि नेपाली नागरिकता निकै महत्वपूर्ण मानिन्छ । नेपाली नागरिकता समयमा नहुदाँ थुप्रै नागरिक राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बन्चित छन् । तर गुल्मीको जिल्ला प्रशासन कार्यालयले गणतन्त्र दिवसको अवसरमा नागरिकले प्रत्यक्ष अनुभुति गर्ने रचानात्मक काम गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेका छन् । गणतन्त्र दिवसको अवसर जिल्लाको रेसुंगा नगरपालिका १४ की पूर्ण अशक्त ४८ बर्षीय पुनीकला आचार्यलाई घरमै पुगेर नेपाली नागरिकता हस्तान्तरण गरिएको हो ।
गणतन्त्र दिवस नागरिकहरुले अनुभूती गर्ने खालको होस भनेर घरमै गई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले बताए । प्रमुख जिल्ला अधिकारी पौडेले भने “शारीरिक रुपमा पूर्ण अपाङ्ग रहेकी आर्चायलाई ४८ बर्षको उमेरमा भएपनी नेपाली नागरिकता दिलाएका छौं त्यसकारण उनी राज्यले प्रदान गर्ने कुनैपनि सेवा सुबिधाबाट बञ्चित हुनुपर्ने छैन् ।” गणतन्त्र दिवसको अबसरमा रचानात्मक कार्य गर्ने उद्येश्यले कार्यालयको परिसरमा सरसफाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
नेपाली नागरिकता नहुदाँ सामाजिक सुरक्षा भत्ता लगायतका सेवाबाट बन्चित रहेकी आचार्य नागरिकता पाएपछि उत्साहित भएकी छन् । गणतन्त्र दिवसको अवसरमा घरमै आएर नेपाली नागरिकता प्रदान गरेकोमा जिल्ला प्रशासन कार्यालय गुल्मीको सम्पूर्ण टोलीलाई आचार्यले धन्याबाद ब्यक्त गरिन् ।