मनोज कार्की /असार ३०, गुल्मी — गुल्मीको सदरमुकाम तम्घासमा रहेको हाटबजार बन्द हुँदा कृषक र उपभोक्ता मारमा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणको जोखिमको समयमा बन्द भएको हाट बजार आल सम्म खुल्न सकेको छैन् । झण्डै डेढ करोडौं लगानीमा कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण र उपभोक्ताको सहजताको लागी संचालन गरिएको हाटबजार कारोनाको जोखिम कम हुदैँ गएपनी खुल्ने छाटकाँट नहुदाँ कृषकले कृषि उपजको उचित मुल्य पाउन सकेका छैनन् ।
साविकको जिल्ला कृषि विकास कार्यालयको १४ लाख, जिल्ला विकास समितिको ८ लाख, जिल्ला पशुसेवा कार्यालयको १० लाख, प्रदेश सरकार र नगरपालिकासहित हालसम्म कूल १ करोड ३३ लाख ५० हजार लगानीमा हाटबजार संचालन आएको थियो । पहिले कृषकले उत्पादन गरेर ल्याएका कृषि उपज बिक्रि वितरण हुने हाटबजार अहिले सवारी पार्किङ्गमा परिणत भएको छ । लामो समयदेखी कारोनाको कारणमा बन्द भएको हाटबजार संचालनमा ल्याउन सम्बन्धित निकाय चासो नदिदाँ उत्पादन भएको कृषिउपजलाई बजारीकरणको समस्या आएको कृषकले गुनासो गरेका छन् । हाटबजार संचालनमा हुदाँ कृषकले उत्पादन गरेको कृषिउपज लिन रेसुङ्गा नगरपालिकाको गाडी कृषकको घरघरमा पुग्थ्यो । तर अहिले हाटबजार संचालनको सुरसार नहुँदा आफूहरु मारमा परेको रेसुङ्गा नगरपालिका ४ अर्खलेका कृषक ज्ञान बहादुर दर्लामीले बताए । कृषक दर्लामीले भने “पहिले नगरपालिकाको गाडी तरकारी लिन गरमै आउँथ्यो भनको पैसामा सबै लैजान्थ्यो तर बजार बन्द भएपछि डोकोमा बोकेर बजार हिड्न परेको छ ।” हामीले डोकोमा बोकेर तम्घास बजारमा तरकारी लगेपनी तरकारीको उचित मूल्य पाउन सकेका छैनौं ।
हाटबजार संचालन हुँदा गुल्मीको रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, इस्मा र धुर्कोट गाउँपालिकाका कृषकहरुलाई निकै राहात पुगेको थियो । तम्घासबजार संगै जोडिएका छिमेकी अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका र छत्रदेब गाउँपालिकाका कृषकहरु समेत लाभान्वित थिए । तम्घास बजारलाई बजारीकरणको अपेक्षामा राखेर तरकारी तथा फलफूल खेतीको सुरु गरेका कृषकहरु पटक पटकको हाटबजार बन्दको हैरानीले निराशा बनेका छन् । उत्पादन भएका तरकारीले बजारमा उचित मुल्य नपाउँदा बारीमै सड्ने अबस्था सिर्जना भएको नगरपालिका ४ अर्खलेका कृषक कमल प्रसाद आर्चायले गुनासो गरे ।
हेर्नुहोस् गुल्मी संबाददाता मनोज कार्कीको सहयोगमा एपीवान टेलिभिजनले तयार पारेको भिडियो रिपोर्ट……
कृषक आर्चाय भन्छन् “नगरपालिकाले करौडौंको लगानीमा शित भण्डार सहित हाटबजार संचालन गरेपनी त्यसको व्यावस्थापन र संचालनमा नगरपालिकाले चासो नदिँदा पटक पटक हामीले यस्ता समस्या भोगिरहेका छौं ।” यसअघि पनि पटकपटक बन्द हुदैँ खुल्दै आएको थियो । हाटबजार संचालन नहुनाले सदरमुकाम तम्घासका उपभोक्ताहरु बाहिरी बजारमा चर्को मुल्य तिर्न बाध्य रहेको भगवती कार्कीले बताईन् । उपभोक्ता कार्कीले “भनिन् हाटबजार संचालन हुँदा ताजा र सस्तो मुल्यमा तरकारी तथा फलफुल किन्न पाइन्थ्यो तर अहिले बाहिरी बजारबाट आएको मङ्गो मुल्य तिर्नुपरेको छ ।”
रेसुङ्गा नगरपालिकाले कर्मचारी खटाएर हाटबजार संचालन लयाएको थियो । कर्मचारी खटाउन बढी खर्चिलो भएकाले निजी वा गैरसरकारी संस्थालाई लिजमा दिएर छिट्टै हाटबजार संचालनमा ल्याउने तयारी भईरहेको रेसुङ्गा नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए । जिल्ला समन्वय समितिसँग भएको ४ बर्षको करार सम्झौता सकिए संगै तत्काल निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिने तयारी भईरहेको सुचना अधिकारी गौतमले जानकारी दिए ।