गीता बस्याल पाण्डे/ साउन ०२, गुल्मी -गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ सुरु गरिएको छ ।गुल्मी जिल्ला भित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित ब्यबस्थापन गर्नका लागि अभियानकै रुपमा सडक बालबालिका पहिचानको कार्यक्रम अगाडि बढाइएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले जानकारी दिए ।
पहिले वास्तबिक सडक बालबालिकाको पहिचान गर्ने र पहिचान पश्चात उनीहरुको उचित ब्यबस्थापन गर्नका लागि योजना बनाइने उनको दाबी छ । जिल्ला भित्रका बालबालिकाहरुको जिल्लामै उचित ब्यबस्थापन गरिने र अन्य जिल्लाका रहेछन् भने सम्बन्धित जिल्लासंग समन्वय गरेर अगाडि बढ्ने खत्रीले बताए ।
पहिचानका लागि कार्यदल नै गठन
सडक बालबालिकाहरुको पहिचान गर्नका लागि जिल्लामा एक जिल्ला शिक्षा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी संयोजक रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।
जसको सदस्यहरुमा जिल्ला समन्वय समिति गुल्मीबाट बिष्णु भुसाल , रेसुंगा नगरपालिकाबाट कल्पना पाण्डे जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नरेश गिरी, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट माधवराज खरेल कार्यदलमा रहेका छन् ।
सडक बालबालिकाको पहिचान गर्नका लागि नेपाल पत्रकार महासंघ गुल्मीको समेत प्रतिनिधित्व रहने समन्वय प्रमुख खत्रीले जानकारी दिए ।
शनिबार सडकमा भेटिएका १९ जना बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरी उनीहरुलाई खाजा नास्ता खुवाएको जिल्ला समन्वय समिति गुल्मीका शाखा अधिकृत बिष्णु भुसालले जानकारी दिए । शनिबार उनीहरुको सामान्य रुपमा पहिचान गरिएको र आइतबार उनीहरुको अभिभावक तथा आफन्तलाई भेटीएको र वास्तबिक पहिचान गर्ने तर्फ लागेको भुसालले बताए ।
भुसालका अनुसार जिल्लामा अभियान नै संचालन गरिएकाले यस अभियानलाई प्रभाबकारी बनाएरै छाड्ने दाबी गरे ।जिल्ला प्रशासन कार्यालय वरपर सडक बालबालिकाहरुले पैदल हिड्ने यात्रुहरु र सेवा ग्राहीबाट जवरजस्ती पैसा माग्ने र सामानहरु उठाउने समेत गर्दै आएका छन् । यस भन्दा अगाडि थ्रिडी पार्कमा समेत उनीहरुले फोहोर गर्ने गरेका थिए ।