साउन १६, बुटवल – सामान्यतया घरायसी बिबाद मिलाउने स्थानीय तहका उपप्रमुख तथा न्यायीक समिति संयोजकको हो । तर रुपन्देहीको तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेबी चौधरीकी बुहारीले आफुमाथि घरेलु हिंसाका भएको भन्दै उजुरी दिएकी छन् ।
तिलोत्तमा नगरपालिका-१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया बर्षा थारुले घरेलु हिंसामा परेको भन्दै उजुरी हुन् । बर्षाले आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले जानकारी दिए ।
रोकाका अनुसार मोहन थारुले कुटपिट गरेर बर्षाको शरीरमा घाउ चोट समेत लागेको छ । मोहनले दैनिक लागुपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु ससुराले समेत बेवास्ता गरेको बर्षाले प्रहरीसमक्ष बताएको वर्षालाई उद्धृत गर्दै रोकाले बताए । गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको उनले प्रहरीलाई बताएकी छन् ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको रानाले बताए । घटनाको बारेमा थप जानकारी दिन खोज्दा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले वर्षाका श्रीमान् मोहन थारु सम्पर्कविहीन भएको बताए ।
चोटपटकको बारेमा जानकारी लिनको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको ओसीएमसी मा पठाईएको जानकारी दिदै उनले त्यसपछि सम्पर्कमा नआएको बताए । घटनाको थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए । उनले सम्पर्कमा ल्याउने प्रयास भईरहेको बताउँदै आवश्यकताअनुसार बुटवलमै मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रतिक्रिया दिए ।
यता नागरिक समाज तथा महिला अधिकारकर्मीहरुले महिला जनप्रतिनिधिकै घरमा महिला हिंसा हुनु दुःखद् भएको टिप्पणीहरु गर्न थालेका छन् । यो विषयमा प्रतिक्रिया लिन खोज्दा उपप्रमुख चौधरी सम्पर्कमा आईनन् । चौधरी नेकपा एमालेबाट दोस्रोपटक तिलोत्तमाको उपप्रमुखमा निर्वाचित भएकी हुन् ।( लुम्बिनी प्रेस )