मनाङ – हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन ।
विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिमा रहेको दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो ।
विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो तर सात वर्ष बितिसक्दासमेत अहिलेसम्म पुल निर्माण हुनसकेको छैन ।
अहिलेसम्म नदीको दुई किनारामा पुलको पिलर मात्रै गाडिएको देख्न सकिन्छ । नदी किनारामा पिलर उठाएर निर्माण कम्पनीका ठेकेदार अहिलेसम्म सम्पर्कविहीन छ । यो पुल निर्माणको ठेक्का पाएको ठेकेदारले आधाभन्दा बढी रकम लगिसकेको पूर्वाधार कार्यालयले जनाएको छ । धारापानीदेखि तिल्चे हुँदै तिब्बत जोड्ने सडकअन्तर्गत यो पुल अलपत्र अवस्थामा रहेको हो ।