छड्के न्युज ब्युरो – साउनको अन्तिम साता आर्थिक संकटकालको घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले १ करोड रकम सहयोग गर्ने भएको छ ।
शनिबार पत्रकार सम्मेलन आयोजना गरेर यस आर्थिक बर्षमा नगरपालिकाले उक्त सहयोग प्रदान गर्ने रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानाकारी दिए ।
रेसुङ्गा बहुमुखी क्याम्पस जिल्लाकै एक शैक्षिक धरोहर भएकाले यसको संरक्षण र आर्थिक संकटलाई समाधान गर्ने नगरपालिकाको पनि दायित्व भएकाले नगरले सहयोग गरेको मेयर पन्थीले बताए ।
मेयर पन्थीले भने– हामी निर्वाचनको समयमा शैक्षिक क्षेत्रको बिकासको घोषणा गरेर आएका हौँ । त्यसकारण शैक्षिक धरोहर र यसक्षेत्रको बिकास गर्न नगर हरपल तयार छ।
२०३९ सालमा स्थापना भएको क्यापसमा पछिल्लो समय बिद्यार्थी संख्या घट्दो छ र यसको रोकथाम तथा क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट अगाडि बढाउन नगरपालिकाले आवस्यक भुमिका खेल्छ मेयर पन्थीले भने ।
क्याम्पस संचालक समितिले गरेको आर्थिक संकटकालको घोषणाले बिद्यार्थीको जीवन समेत अन्योलमा छ त्यसकारण जिल्लाभित्रका सबै पालिकाका प्रमुखहरुलाई सहयोगका लागि अपिल र आग्रह गरिएको मेयर पन्थीले बताए।