बिराटनगर – विराटनगर-११ स्थित शिक्षा विकास समन्वय इकाई मोरङले एउटै शीर्षकमा दुईथरी रकम असुलेको छ ।
शिक्षा सेवा आयोगबाट शिक्षा सेवा आयोग नियमावली २०५७ को नियम ६ क को उपनियम १ बमोजिम २०७९ असार १८ गते शिक्षकका लागि अनुमतिपत्र परीक्षा संचालन गरिएको थियो
माध्यमिक तह अध्यापन लिखित परीक्षामा हजारौ परीक्षार्थी सहभागी थिए। अनुमतिपत्रको परीक्षामा सफल विद्यार्थीलाई इकाईले सशुल्क रूपमा प्रमाणपत्र वितरण गरिरहेको छ । तर इकाईले एउटै शीर्षकमा भिन्नभिन्न मनपरी शुल्क असुल उपर गरेको छ ।
भदौ ७ गते इकाईले परीक्षार्थीबाट अध्यापन अनुमति पत्र वापत नगद ३ सय रूपैयाँ असुल उपर गरेको थियो भने भदौ १५ गते सोही शीर्षकमा १५० रूपैयाँ मात्र असुल गरेको छ एउटै शीर्षकमा दुईथरी रकम असुलउपर गरिँदा परीक्षार्थी आक्रोशित बनेका छन् बिनाकुनै पूर्वसूचना र जानकारी अध्यापन अनुमति पत्रमा फरक फरक शुल्क कसरी असुल उपर गरियो भनी परीक्षार्थीले इकाइलाई प्रश्न राखेका छन् परीक्षार्थीको एक समूह एउटै शीर्षकमा फरक फरक रकम असुल बारे बुझ्न आइतबार इकाइ कार्यालय जाने भएको छ ।
शिक्षण पेशामा आवद्ध सन्तोष आचार्यले न्यू सृष्टि दैनिकसँग कुरा गर्दै इकाईले शिक्षकको लाइसेन्स दिँदा मनलाग्दी रकमको रसिद काटेर ठगी गरेको आरोप लगाएका छन् ।
उनले बीना कुनै जानकारी शिक्षक लाइसेन्समा फरक फरक रकम असुलीले इकाईको कार्यसम्पादनमा शंका उब्जाएको बताए
उनले अरूलाई अनुशासनको पाठ पढाउन जाने शिक्षक आफै शिक्षा कार्यालयबाट ठगिनु दुःखद् रहेको बताए । एकै शीर्षकमा दुई थरीको रकम असुलीको पोल खुलेपछि इकाईका पदाधिकारीले परीक्षार्थीबाट असुल गरेको बढी रकम परीक्षार्थीलाई नै फिर्ता दिने सोच बनाएको सूत्र भन्छ। (यो समाचार अनुज सापकोटाले न्यु सृष्टि दैनिकमा लेख्नुभएको छ ।)