भदौ २४, गुल्मी – नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गुल्मीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि तीन जनाको नाम सिफारिस गरेको छ । बिहीबार धुर्कोट गाउँपालिकाको बर्बादमा सम्पन्न निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नम्बर २ को प्रथम भेलाले भीमकान्त भण्डारी, निमबहादुर पाण्डे र वीरबहादुर कार्कीको नाम सिफारिस गरेको हो ।
संघमा सिफारिसमा परेकामध्ये मालिका गाउँपालिका-५ निवासी भण्डारी माओवादी केन्द्रको विशेष प्रदेश कमिटीका सदस्य हुन् । उनी पूर्वकर्मचारी समेत हुन्। धुर्कोट गाउपालिका-६ निवासी पाण्डे जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय छन् । उनी हाल पार्टीको केन्द्रीयसदस्यको जिम्मेवारीमा रहेको जिल्ला समन्वय समिति संयोजक बुद्धि जिसीले जानकारी दिए । त्यस्तै, मालिका गाउँपालिका-५ निवासी कार्की हाल पार्टीको केन्द्रीय सदस्य र जिल्ला समन्वय समिति सदस्य छन् । उनी समन्वय समिति छोडेर निर्वाचन लड्ने दाउमा छन्।
भेलाले प्रदेशतर्फका आकाक्षी उम्मेदवारको नाम पनि सिफारिस गरेको छ । क्षेत्र नम्बर २ को ‘क’मा खुमबहादुर थापा, दुर्गा विक र ठाकुर पाण्डे एवं ख’का लागि बुद्धि जिसी, बिनिता रोका पोखरेल र गोपाल कवरको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेकामध्ये थापा, जिसी र पोखरेल प्रदेश कमिटी सदस्य हुन्। पाण्डे क्षेत्र नम्बर २ ‘क’को सचिवको जिम्मेवारीमा छन् । कुँबर पार्टीको धुर्कोट गाउँकमिटी अध्यक्ष छन् भने विक क्षेत्र नम्बर २ को सचिवको जिम्मेवारीमा रहेको माओवादी केन्द्रले जनाएको छ ।( यो खबर आजको राजधानी दैनिकमा हुमाकान्त पोखरेलले लेख्नुभएको छ ।)