भदौ २५, गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको पुष्टि भएको छ । जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जिल्ला भरका पालिका मध्ये मालिका गाउँपालिका उत्कृष्ट घोषणा गर्दै सम्मान पत्र प्रदान गरेको छ ।
पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधिको आधारमा मुल्यांकन गर्दा मालिका गाउँपालिका प्रथम,छत्रकोट गाउँपालिका द्वितीय र मुसिकोट नगरपालिका तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका स्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिए ।
दुई दिन सम्म जिल्लाको सत्यवती गाउँपालिका ८ भार्सेमा चलेको समिक्षा गोष्टिमा पालिकाको कार्य प्रगतिको बारेमा समिक्षा समेत गरिएको थियो । जिल्लाको अत्यन्त विकट तथा गुल्मीको कर्णाली मानिने मालिका गाउँपालिकाले विभिन्न समस्याका बाबजुद पनि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको थियो ।
गएको असोज ७ गते गुल्मीमै पहिलो पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा भएको मालिका गाउँपालिका कोभिड १९ नियन्त्रणमा समेत अब्बल गाउँपालिकाका रुपमा परिचीत बनेको थियो ।८ वटा वडामै बर्थिङ सेन्टर सहित सुविधा सम्पन्न भवन रहेका छन भने स्वास्थ्य सेवाको पहुँच जनस्तर सम्म पुराउनलाई तीन वटा सामुदायिक स्वास्थ्य इकाई समेत रहेका छन ।
गुल्मी जिल्लामा उत्कृष्ट पालिका बने सङै विगत ५ वर्ष देखि त्यहाँको स्वास्थ्य क्षेत्रको नेतृत्व गरेका स्वास्थ्य संयोजक बसन्त भुसालले खुसी व्यक्त गरे । सबैको सहयोग साथ तथा पुर्व जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको अहम भुमिकाका कारण पालिका प्रथम बनेको बताए ।
साथै आगामी दिनमा पनि यसलाई कायम राख्ने भुसालले प्रतिक्रिया दिए ।त्यस्तै गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले मालिका गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा नयाँ र उल्लेखनीय काम गर्ने बताए ।स्वास्थ्य सबै भन्दा महत्त्वपूर्ण विषय भएकाले जनतालाई स्वस्थ बनाउन आफुहरु लागि रहने अध्यक्ष अर्यालको तर्क रहेको छ ।स्रोत :गुल्मीअपडेट