काठमाडौं । वर्षा याम शुरु गराउने मौसमी प्रणाली मनसुन नेपालबाट बाहिरिनु पर्ने सामान्य मिति आज अर्थात् अक्टोबर २ तारिख हो, तर मनसुन अझै केही दिन रहने देखिएको मौसमविद्ले बताएका छन् ।मौसम पूवानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिलेसम्मको अनुमानमा कम्तीमा अरू ती दिन सोमबारसम्म मनसुन बाहिरिने छाँटकाँट देखिएको छैन । नेपालबाट मनसुन बाहिरिने औसत मिति आज अक्टोबर २ भए पनि यस पटक केही लम्बिएको हो ।
मौसमविद् नगरकोटीका अनुसार अहिले प्रदेश–१, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । ‘कतै हल्का, कतै छिटफुट र कतै मध्यमसम्म वर्षा भइरहेको छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘बिहानै काठमाडौंमा पनि छिटफुट वर्षा भएको थियो तर अहिले रोकिएको छ ।’
उनका अनुसार आज दिउँसो वा अपराह्नतिर काठमाडौंमा मध्यमसम्म वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (भन्नाले बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्मलाई बुझ्नुपर्छ) मौसम देशभर आंशिक (धेरै आकाश खुला, थोरैमा बादल) देखि सामान्य (धेरै आकाश बादलले ढाकेको, थोरै खुला) बदली हुनेछ भने प्रदेश–२ का धेरै र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र २ का धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश–१ र २ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लखे छ ।