कार्तिक २६, गुल्मी – पूर्व मन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टले मुलुकमा सुरु गरिएका महत्वकांक्षि योजनाहरु एमालेको सरकार आएमा मात्र पुर्णता पाउने बताएका छन् । शुक्रवार मालिका ७ घमिर भनुपोखरामा चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै जनताले मुलुक नेतृत्व गर्ने जिम्मा एमाले पार्टीलाई सुम्पिदिए मात्र महत्वकांक्षि योजनाहरुको पूर्णता र समृद्ध नेपालको सपना साकार हुने बताए ।
एमालेप्रति जनताको आकर्षण र उत्साह बढ्दै गएको बताउँदै नेता बिष्टले गुल्मीमा आफूले सुरु गरेका बिकास योजनालाई पूर्णता दिन मतदातालाई जिताउन समेत आग्रह गरेका छन् ।
गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका विष्टले गुल्मीमा आफूले सुरु गरेका बिकास योजनालाई पूर्णता दिनका लागि आफ्नो उम्मेदवार रहेको बताए ।
खरको छाना मुक्त घर, अधिकांश जनताको घरमा विद्युतीय सेवा बिस्तार, हरेक पालिकामा १५ शैय्याको अस्पताल निर्माण ,मदनभण्डारी राजमार्गलाई पूर्णता दिने, सालझण्डी तम्घास जोड्ने सडक निर्माण, प्रत्येक वडालाई कालोपत्रे सडकले जोड्ने, विद्युत सब स्टेशन निर्माण गर्ने र गुल्मेली जनताको आवश्यकता र चाहाना अनुरुप काम गर्ने एमाले नेता बिष्टले बताए ।
विपक्षीको तिकाटिप्पणी र आलोचनाभन्दा पनि आफ्ना बिकास योजनाहरु पूरा गर्नेतर्फ केन्द्रित रहेको उनले बताए ।