कात्तिक ६, काठमाडौ –नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार अर्थात् काग तिहार । यमपञ्चकअन्तर्गत आज कागतिहार मनाइँदैछ ।
धर्मराज यमराजको सन्देशवाहकको रूपमा आज कागको पूजा गरिँदैछ । कागको पूजा गरी खानेकुरासमेत खुवाउने चलन छ । यमपञ्चकको पहिलो दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीमा कागको पूजा गर्ने परम्परा रहेको छ । तथिको घटबढका कारण हिजो अपराह्न चार बजेर ३४ मिनेटपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लागेसँगै यमपञ्चकारम्भ भएको हो ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा मीठा खान दिई खुशी पार्ने गरिन्छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ ।
आज त्रयोदशीकै सूर्योदयलाई आधारम मानेर कागपूजन गर्न लागिएको हो ।