गोविन्द भुसाल \भाद्र १० गुल्मी–लुम्बिनी प्रदेशको गुल्मी जिल्ला मदाने गाउँपालिकामा अवस्थित मदाने वन क्षेत्र अहिले पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। प्राचिनन किम्वदन्ती अनुसार मदाने पहाड दही मथ्ने मदानी आकारको भएकाले यसको नाम मदाने राखिएको जनविश्वास रहेको छ।मदाने लेक लुम्बिनी प्रदेशकै सर्वोच्च पहाडको रुपमा पनि चिनिन्छ। मदाने लेक समुद्री सतह देखि ९ सय ७५ मिटर देखि २६९० मिटरको उचाइमा रहेको छ भने १३,७६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
यस वनको पहिले खासै महत्त्व नदिएता पनि अहिले आएर यस क्षेत्रलाई पर्यटकीय आकर्षण क्षेत्रको रुपमा लिने गरिन्छ। मदाने वन क्षेत्रमा उद्गमस्थल भएर विभिन्न नदिनालाहरु बग्ने गर्दछन। जसमा छल्दी, पनाह, निस्ती, झिमरुक आदि नदिहरु जसबाट विद्युत उत्पादन गरि गुल्मी, प्युठान र अर्घाखाँचीका जनताहरु लाभान्वित छन।यस क्षेत्रमा जाडो मैसममा धेरैै जसो हिउँ पर्ने र फागुन देखि जेष्ठ सम्म नेपालको राष्ट्रिय फुल लालीगुराँस फुल्ने हुँदा यस क्षेत्रको बढी महत्व रहेको पनि पाइन्छ। मदाने वन क्षेत्रलाई वि.सं. २०६८ बैशाख १५ गते देखि मदाने संरक्षित वनको रुपमा नेपाल सरकारले घोषणा गरको थियो। त्यस पछि मदाने वन क्षेत्रलाई अझ बढी महत्वका साथ हेरिएको पाइन्छ।
दुर्लभ प्रजातिका चराहरु
यस क्षेत्रमा २०७ प्रजातीका चराचुरुङ्गीहरु पाइन्छन। जसमा विश्वमा दुर्लभ प्रजातिको रुपमा रहेका चराहरु मध्ये लोभिपापी गरुड, गोमायु महाचिल, सुनगिद्ध, कालिज प्रजातिको चिर नामक पाँच प्रजातिका चराहरु पनि रहेका छन। त्यस्तै नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि मदाने वन क्षेत्रमा पाइन्छ। यस क्षेत्रमा विभिन्न प्रजातिका वनस्पति र रुखहरु रहेका छन। जसमा चाँद, चिलाउने, कटुस, बाँस, लालिगुराँस, खर्शु, दुदिलो, देवचार, उत्तिस, पैँयु आदि रुखहरु पर्दछन। मदाने वनमा बहुमुल्य वन पैदावारहरु पनि रहेका छन।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्व तथा पहिचान राख्ने चिराइतो, शोत्ता, हर्रो, बर्रो, कालोकाफल, पाँचऔँले, अल्लो, सुगन्धकोकिला, सुनगाभा आदि जडीबुटीहरु रहेका छन। जसबाट विभिन्न आर्युवेदिक औषधीहरु उत्पादन गर्न सकिन्छ। यस क्षेत्रमा विभिन्न प्रजातीका खाने च्याउहरु पनि रहेका छन। जसमा गुच्छी च्याउ, छाते च्याउ, डल्ले च्याउ आदिको सेवनबाट उच्च रक्तचाप, मुटुरोग जस्ता रोग लाग्नबाट पनि बचाउँछ।
मदानेमा पाइने जनावरहरु
मदाने संरक्षित वनमा विभिन्न किसिमका जंगली जनावरहरु रहेका छन। जसले गर्दा मदाने वनलाई सुनमा सुगन्ध थप्ने काम पनि गरि रहेका छन्। जनावरहरुमा मृग, चितुवा, कस्तुरी, स्याल, बँदेल, लङगुर, भालु, राते, वन बिरालो, निल बिरालो, लोखर्के आदि रहेका छन।मदाने संरक्षित वन क्षेत्रको वन र जलाधार संरक्षण गर्न सकिएमा मदाने वन क्षेत्रमा चराहरुको संख्यामा अझ वृद्धि हुन सक्ने स्थानीयले बताएका छन। त्यस्तै यस क्षेत्रमा भएको वनजंगल, धार्मिक स्थल, चराचुरुङ्गीहरु, वन्यजन्तुहरु, जडीबुटीहरु, बोटविरुवा आदिलाई पर्यटकीय क्षेत्रसंग जोडेर संगै लैजान सकिन्छ।मदाने वन संरक्षणका लागि चुनौती र समस्याको रुपमा वासस्थान विनास, वासस्थान परिर्वतन, विद्युतिय तार, वन डढेलो, अवैध सिकार जस्ता कारणहरु रहेका छन। त्यसलाई रोक्नका लागि स्थानीय निकाय संग सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्नु पर्ने देखिन्छ।
धार्मिक क्षेत्र मदाने
यस क्षेत्रको अर्को मुख्य आकर्षणको केन्द्रविन्दु रहेको धार्मिक स्थल, मदाने मालिका भगवती मन्दिर रहेको छ। यस मन्दिरमा स्थानीय र विभिन्न जिल्लाहरुबाट भत्तजनहरु आउने गर्दछन। यस मन्दिरमा आफुले मागेको वर र सम्पुर्ण कुराहरु पुग्ने जनविश्वास रहदै आएको छ।यस मन्दिरमा आफुले मागेको वर पुरा भए पछि वा वर माग्नका लागि कालो पाठी भगवतीलाई बली दिने प्रचन रहिआएको छ। यस मन्दिरमा दुर्गा भगवतीको मुर्तिहरु, पालाहरु, घण्टीहरु र विभिन्न किसिमका ध्वजाहरु रहेकोले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ।