मंसिर ०१ काठमाडौ – पोस्टर टाँसेर भौतिक रूपमा गरिने निर्वाचन प्रचारशैली कम हुँदै गएको छ । त्यसको ठाउँ सामाजिक सञ्जालले लिन थालेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यकाे निर्वाचन नजिकिँदै गर्दा फेसबुकलगायतका सामाजिक सञ्जालमा उम्मेदवार र राजनीतिक दलसम्बन्धी थुप्रै सामग्री (फोटो, भिडिओ) देखिन थालेका छन् ।
त्यसमध्ये हामीले फलो नगरेका पार्टी वा उम्मेदवारका पोस्ट पनि देखिरहेका हुन्छन् । राजनीतितर्फ रुचि छ भने कुनै नेता वा पार्टीको पोस्ट सजेसनमा देखाइरहेको हुन्छ । तर, कतिपय अवस्थामा राजनीतिमा रुचि नभएका प्रयोगकर्ताको फिडमा पनि उम्मेदवार वा पार्टीसम्बन्धी पोस्ट देखिन्छ ।
त्यो पोस्टका लागि सम्बन्धित पार्टी वा उम्मेदवारले पैसा तिरेका हुन्छन् । आज हामी आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा सर्वाधिक बढी खर्च गर्ने उम्मेदवारका बारेमा जानकारी दिँदै छौँ । विगत ३० दिनमा ६,३३९ विज्ञापनबाट कुल ८० हजार २८० डलर ( करिब एक करोड ४ लाख २० हजार ३४० रुपैयाँभन्दा बढी) खर्च भएको छ ।
फेसबुक विज्ञापनमा खर्च हुने रकम दिनानुदिन बढ्दो छ । हरेक दिन १० लाख रुपैयाँभन्दा बढीको विज्ञापन हुने गरेको तथ्याङ्कले देखाएको छ ।
•
पछिल्ला ३० दिनमा फेसबुक विज्ञापनबाट चुनावी प्रचारका लागि सर्वाधिक खर्च गर्नेहरूको सूची यसप्रकार छ:
श्रीराम गुरुङ (३,५४६ डलर)
पछिल्ला ३० दिनमा सर्वाधिक खर्च गर्ने उम्मेदवारमध्ये सबैभन्दा पहिलो अङ्कमा आउँछन्, श्रीराम गुरुङ । श्रीराम काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
हालसम्म उनले फेसबुकमा चुनावी पोस्टर बुस्ट गर्नका लागि तीन हजार पाँच सय ४६ डलर ( करिब पाँच लाख ५९ हजार रुपैयाँ) खर्च गरेका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन् ।
सुरेश बस्नेत (२,१४४ डलर)
चुनावी प्रचारका लागि पछिल्ला ३० दिनमा सर्वाधिक खर्च गर्नेहरूको सूचीमा दोस्रो अङ्कमा छन्, सुरेश बस्नेत । बस्नेत आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुर क्षेत्र नम्बर १ का उम्मेदवार हुन् ।
उनले फेसबुकमा विज्ञापनका लागि ३० दिनमा २,१४४ डलर (दुई लाख ७७ हजार ५६२ रुपैयाँ) खर्च गरेका छन् ।
किरण पौडेल (१,६२९ डलर)
चुनावका लागि फेसबुकमार्फत सर्वाधिक खर्च गर्नेहरूको सूचीमा तेस्रो अङ्कमा छन्, किरण पौडेल । पौडेल प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार हुन् ।
उनले पछिल्लो ३० दिनमा १६२९ डलर (करिब दुई लाख १० हजार ८९० रुपैयाँ खर्च गरेका छन् ।)
सुशान्त श्रेष्ठ (१४७६ डलर)
चुनाव प्रचारका लागि सर्वाधिक खर्च गर्ने उम्मेदवारको सूचीमा सुशान्त श्रेष्ठ चौंथाे स्थानमा छन् । काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार रहेका श्रेष्ठले पछिल्ला ३० दिनमा १३९६ डलर (करिब एक लाख ९१ हजार रुपैयाँ) खर्च गरेका छन् ।
प्रदिप पौडेल (१,१५५)
पछिल्ला ३० दिनमा चुनावका लागि सर्वाधिक खर्च गर्नेको सूचीमा प्रदिप पौडेल पाचौँ स्थानमा रहेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ का नेकपा (एमाले) तर्फका उम्मेदवार पौडेलले चुनाव प्रचारका लागि १,१५५ डलर (करिब १ लाख ४९ हजार रुपैयाँ खर्च गरेका छन् ।
त्यसबाहेक नाम चलेका नेताहरू पनि चुनाव प्रचारका लागि फेसबुक बुस्टिङमा निर्भर छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ हजार ३०० रुपैयाँ बढी खर्च गरेका छन् । यसैगरी नेपाली कांग्रेशका प्रदीप पौडेलले ९६ हजार रुपैयाँ बढी फेसबुक बुस्टिङमा खर्चेका छन् ।
यसरी चुनावी प्रचारका लागि सामाजिक सञ्जालमा मोटो रकम खर्च गर्नेहरूमध्ये उपेन्द्र यादव, रञ्जु दर्शना, प्रकाश मान सिंह रवीन्द्र मिश्र, मानुषी यमि भट्टराई, रमेश खरेल, प्रदिप ज्ञवाली, पूर्णबहादुर खड्का, मिलन पाण्डे, प्रकाश शरण महत रहेका छन् ।