गुल्मी – गुल्मीमा बैंक तथा घर तोडफोड गरी नगद र गरगहना चोरी हुँदै गएका छन् ।गत बिहीबार राती सत्यवती गाउँपालिका वडा नम्वर एक अस्लेवामा जीतबहादुर मिदुनको घरमा शंकर थापाले संचालन गरेको औषधि पसलबाट ८ हजार नगद, पुष्पा अर्यालको करिब ३० हजार नगद , सीता होटलबाट छ हजार, तोयनारायणकी कान्छी बुहारीको घरबाट ४० हजार नगद र १५ तोला सुन , मति पाण्डेको घरबाट पुराना सामग्रीहरु चोरी भएको वडा अध्यक्ष अर्जुन कनौजेले जानकारी दिए ।
शुक्रबार अर्को वडा लिम्घामा रहेको कुमारी बैकंको ब्रान्चलेस बैकिङ शाखाबाट चार लाख नगद चोरी भएको र वडा कार्यालय तोडफोड भएको कनौजेलाई बताए ।यसरी गाउँमा चोरको विगविगी हुँदा प्रहरी प्रशासन भने मौन देखिएको स्थानीयहरुले बताउँदै आएका छन् ।यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविन किशोर प्रधानले चोरीका घटनाका उजुरी आएको बताए । जिल्लामा चोरीका घटनाहरु बढेकाले अनुसन्धानका लागि ७५ जनाको अप्रेसन फोर्स गठन गरी परिचालन भएको
प्रहरीले बताएपनी हालसम्म दोषी पत्ता लाग्न नसक्दा कार्वाही शुन्य भएको पाइएको छ ।
घटनामा स्थानीयहरुको पनि संलग्नता रहेको हुनसक्ने भन्दै सूचना प्राप्त गर्नु नै प्रमुख भएकाले सूचना दिई सहयोग गर्न पनि उनले स्थानीयहरुलाई आग्रह गरे ।उक्त क्षेत्रमा स्याङजा र गुल्मीको सीमाना पनि भएकाले चोरीका घटनाहरु बढ्दै गएको बताउँदै त्यस क्षेत्रमा प्रहरी चौकी पनि आवश्यक रहेको उनको भनाई छ ।
अस्लेवामा चोरी हुँदाको केही दिन पहिले स्याङजाको कालीगण्डकी गाउँपालिकाका पाँच छ वटा घरहरुमा तोडफोड गरी चोरी भएको थियो ।