गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका–१४ रातामाटामा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको हो । वडा नम्बर १४ को सम्पर्क कार्यालय रातामाटामा दोश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारी उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
६० वर्ष माथिका ५८ जना जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिनुभयो । त्यस अवसरमा जेष्ठ नागरीकहरुको सुगर तथा ब्लड प्रेसर परीक्षण गरिएको थियो । साथै जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
सुगर, ब्लड प्रेसर तथा सितामोल, ज्वरो लगायतका औषधी वितरण गरिएको पाण्डेले जानकारी दिनुभयो । अहेबहरु यमुना ज्ञवाली र कमला पुनले जेष्ठ नागरीकहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवि कुँवरको अध्यक्षता रहेको कार्यक्रममा जेष्ठ नागरिक संघका अध्यक्ष रुद्रबहादुर भुजेलको प्रमुख आतिथ्यता तथा सचिव वेदप्रसाद कुँवरको आतिथ्यता रहेको थियो । त्यस वडाका वडाअध्यक्ष धनबहादुर पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डेले गर्नुभएको थियो । सो अवसरमा वडासदस्यहरु, वडा सचिव लगायतको सहभागिता रहेको थियो ।