काठमाडौँ । लामो समयसम्म वर्षा नभएपछि जिल्लामा हिउँदे बाली (गहुँ, जौ, उवा र केराउलगायत) तथा तरकारी सुक्न थालेको छ ।
यो वर्ष म्याग्दीमा बर्खेबाली (धान र कोदो) को उत्पादन पनि घटेको र हिउँदेबालीको उत्पादनमा पनि कमी आउने संकेत देखिएकाले कृषक चिन्तित छन् । गत असोजदेखि यहाँ पानी परेको छैन । हिउँदे बाली लगाउने समयमा भएको खडेरीका कारण बाली सुक्न थालेको कृषक बताउँछन् ।
खडेरीका कारण यो वर्ष जिल्लामा गहुँ, जौ, उवा, केराउ, मुसुरो, हिउँदे आलु तथा तरकारी उत्पादन घट्ने देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेको जिल्लाका अधिकांश कृषक उत्पादनमा कमी आउने भएपछि चिन्तित छन् ।
करिब ९ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको म्याग्दीमा ५२ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय कृषकले गहुँ बाली समेत लगाउन नपाएको स्थानीय तहका कृषि प्राविधिकले बताए। गहुँ छरेका ठाउँमा पनि खडेरीका कारण सुक्न थालपछि १० देखि १५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ ।
लामो समयसम्म पानी नपर्दा र सिँचाइ सुविधा नहुँदा हिउँदे बाली सुक्न थालेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । म्याग्दीका किसानले परम्परागत कृषि औजारको ठाउँमा प्रविधिको प्रयोग गर्न थालेका छन्। खेतीपातीका लागि प्रविधिले किसानलाई सजिलो बनाइदिए पनि प्रकृतिले भने साथ नदिँदा निराश बन्नु परेको उनीहरूको भनाइ छ ।
प्रविधिको बढ्दो प्रयोगसंगै हिमाली जिल्ला म्याग्दीमा खेतीपाती गर्ने तरिका पनि फेरिएको छ। परम्परागतरूपमा प्रयोग हुँदै आएका हलगोरुको ठाउँमा अब खेतका गह्रा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन्। गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवा लगायतका परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ ।
कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको भए पनि सिँचाइ, मल, बीउ र कृषिका लागि जनशक्ति अभाव देखिएको खबराका अगुवा कृषक शोभित सापकोटाले बताए । कृषक निर्वाहमुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित भएका छन्। परम्परागत तरिकाले खेती लगाउँदा व्यहोर्नु पर्ने धेरै किसिमका झञ्झटबाट पनि मुक्ति मिलेको उनीहरू बताउँछन् ।
वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदुर र जनशक्तिको अभाव हुन थालेको वेला मिनिटिलर र ट्याक्टर उपयोगी भएको स्थानीय कृषकले बताए । अहिले म्याग्दीका सबै गाउँमा मिनिटिरले प्रयोग व्यापक रूपमा हुन थालेको छ। हलगोरु नारेर खेती गर्ने चलन हराएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, बाह्रै महिना घाँसपात गर्ने र हेरालु राख्नु पर्ने झञ्झट पनि हटेको कृषक बताउँछन् ।